मुग्लिन–पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी

दमौली : पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति कार्यमा दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका उनले जानकारी दिए ।
पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गरे । उनका अनुसार ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.०४ किमीमा एक्तर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किमी खण्डमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।
उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए । उक्त पुलमा ४७.५२ प्रतिशत भौतिक र ४७.९ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । उनले हालसबै सबै चार वटा पाइलक्याप, १२० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिए ।
पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किमी कालोपत्र सम्पन्न भएको छ । यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन् ।
कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउटा बाँकी छ भने ५१.५ किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किमी सम्पन्न भएको छ । वि.सं. २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ ।










