डुम्रे बजारको अनुगमन : केकमा अखाद्य बस्तुको मिसावट भेटिएपछि उद्योेगमा ताला
डिपि अधिकारी/बन्दिपुर
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा सरोकारवाला निकायले अनुगमन गरेका छन् । बजारको अनुगमनका क्रममा एउटा बेकरी उद्योगमा सडेगलेको र अखाद्य बस्तु मिसावट गरेको भेटिएपछि बेकरी उद्योग र पसल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको अगुवाइमा सोमबार गरिएको बजार अनुगमनका क्रममा डुम्रे स्थित रजनिश बेकरी उद्योगले ब्यावसाय दर्ता समेत नगरी सडेगलेको र अखाद्य बस्तुको मिसावट गरी खाद्यवस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गरेको भेटिएपछि प्रशासनले ताला लगाई दिएको हो ।
बेकरी उद्योगकको अनुगमन गर्दा उद्योग भित्र सडेगलेको र अखाद्य बस्तुको प्रयोग गर्ने गरिएको र विभिन्न केमिकलको प्रयोग र सरसफाई समेत राम्रोसंग नगर्दा दुर्गन्धित अवस्थामा भेटिएको थियो । चाडपर्वका बेला मात्र बजार अनुगमन हुने गुनासो बढ्दै गएपछि प्रशासनले सरोकारवाला निकायको समन्वयमा बजार अनुगमन गर्न थालेको छ ।
अनुगमन गर्दा सरसफाईको अवस्था दयनीय भेटिएको, उद्योगमा पस्न नाकै थुन्नु पर्ने अवस्था रहेको र केक बनाउने स्थान अत्यान्तै फोहोर भेटिएकाले उद्योगमा तत्काल उत्पादनमा रोक लगाउन ताला नै लगाउनु पर्ने देखिएकाले ताला लगाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बरालले बताए ।

‘अखाद्य र म्याद गुज्रिएका उपभोग्य बस्तुहरु बिक्री हुने गरेको जनगुनासो बढ्न थालेको थियो’, सहायक प्रजिअ बरालले भने, ‘उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्नेलाई कानुनको दायारामा ल्याउँछौं।’ अनुगमन टोलीले डुम्रेबजारका मिठाइ पसल, खाद्यन्न पसल, माछामासु पसल, तरकारी पसल र बीउ बिजन र दाना पसलहरुको अनुगमन गरेको थियो ।
पछिल्लो समयमा जन्मदिन मनाउन होस् वा अन्य शुभ कार्यमा केक काट्ने प्रचलन बढ्दै गई रहेको तर केक कत्तिको खान योग्य छ कि छैन् भन्ने बारे खासै चासो नदिँदा आम नागरिक विशेष गरी बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा केक काट्ने प्रचलन तत्कालै हटाउनु पर्ने अनुगमनमा खटिएका कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले बताए ।
बजार अनुगमनको क्रममा कानुनी रुपमा दर्ता नगरी व्यवसाय संचालन गरिएको, दर्ता नविकरण नगरिएको, म्याद गुर्जेका उपभोग्य बस्तुहरु बिक्री योग्य बस्तुसंगै राखिएको, लेवल नराखिएको, बीउ बिजन र विषदी पसल एउटै ठाउँमा राखी बिक्री गर्ने गरिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको, माछामासु खुला रुपमा राख्ने गरिएको, म्याद गुज्रिएको पेय पदार्थ थोक बिक्रेताले पसलमा बिक्रि गर्ने गरेको भेटिएको थियो । मिठाइ पसलमा पनि सरसफाईको कमि रहेको भेटिएकाले अनुगमनका क्रममा म्याद गुर्जेका सामानहरु जफत गरिएको छ । पसल दर्ता तथा नविकरण नगरेका व्यवसायीहरुलाई समयमै दर्ता तथा नविकरणका लागि आग्रह गरिएको उद्योग अधिकृत नारायण प्रसाद ढकालले बताए ।

अनुगमनामा पशु सेवा कार्यालय तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण तनहुँका प्रमुख प्रशान्त पोख्रेल, बन्दिपुर गाउँपालिकाका राजश्व शाखाका प्रमुख दिनेश पौडेल, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका सभापति राजेश श्रेष्ठ, पूर्व सभापति नेक महम्मद मियाँ, उपसभापति हेमलाल भिके, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी नायब निरीक्षक बिरेन्द्र कुमार खड्का, काशीनाथ भट्टराइ लगायतको टोली खटि्टएको थियो ।










