स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्दै थर्पु अस्पतालको आँखा उपचार केन्द्र

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले नागरिकलाई स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले आँखा उपचार सेवा सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित थर्पु अस्पतालमा विहीबारदेखि नियमित आँखा उपचार सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकलाई स्थानीयस्तरमै प्रभावकारी सेवा दिन सक्ने गरी आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए ।

सेवा सुरु भएसंगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली वा पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको छ । हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरी केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, “अब यहाँका स्थानीयवासीले आँखा उपचारका लागि अन्यत्र जानुपर्दैन । यहाँबाटै नियमित रूपमा उपचारको व्यवस्थाले सर्वसाधारणलाई सहज हुनुका साथै समय र खर्च बचत हुनेछ ।”

उपचार केन्द्र शुभारम्भको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरमा विभिन्न वडाका सर्वसाधारण उपचारका लागि आएका अस्पतालले जनाएको छ । केन्द्र सञ्चालनका लागि प्राविधिकसहित उपकरण हिमालय आँखा अस्पतालले उपलब्ध गराएको छ भने उपचारका लागि अन्य सहयोग म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक छ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बिरामीबाट संकलित रकम गाउँपालिकाको आम्दानीका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी गराए ।

उनका अनुसार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रूपमा सञ्चालन गर्न आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त समितिको संयोजकमा थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सहसंयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् ।

त्यस्तै सदस्यहरूमा म्याग्दे–४ का वडाध्यक्ष, वडा नं ७ का वडाध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker