सम्पादकीय : वन डढेलो नियन्त्रणमा साझा जिम्मेवारी

नेपालका वनहरू केवल हरियालीका प्रतीक मात्र होइनन्, देशको पर्यावरणीय सन्तुलन, जैविक विविधता, जलस्रोत संरक्षण तथा ग्रामीण जनजीवनको आधारसमेत हुन्। यही कारणले वन संरक्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिइँदै आएको छ। तर प्रत्येक वर्ष सुक्खायाम सुरु भएसँगै वन क्षेत्रमा देखिने डढेलोको समस्या अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको छ। यही सन्दर्भमा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नारासहित आइतबारदेखि सुरु भएको वन डढेलो व्यवस्थापन सप्ताहले यस समस्याप्रति पुनः राष्ट्रिय ध्यान केन्द्रित गराएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ। यस सप्ताहको मुख्य उद्देश्य वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नु हो। वन डढेलो केवल प्राकृतिक समस्या मात्र होइन, यसको अधिकांश कारण मानवीय गतिविधिसँग जोडिएको देखिन्छ। लापरवाहीपूर्वक आगो बाल्नु, वन क्षेत्रमा फालिएका चुरोटका ठुटा, घाँस सफा गर्ने क्रममा आगो लगाउने प्रवृत्ति तथा अन्य अविवेकी व्यवहारले धेरैजसो डढेलोका घटना निम्त्याउने गरेका छन् ।

नेपालमा सुक्खायाम सुरु भएसँगै फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम अत्यधिक हुन्छ। यस अवधिमा हावाको गति, सुख्खा पातपातको जमघट र पानीको कमीले सानो आगो पनि क्षणभरमै ठूलो डढेलोमा परिणत हुन सक्छ। वन तथा भूसंरक्षण विभागका अनुसार पछिल्ला वर्षहरूमा डढेलो देशका सबै प्रदेशमा फैलिएको देखिएको छ। विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा यसको जोखिम बढी देखिन्छ भने तराई–चुरे क्षेत्र तथा मध्यपहाडी वन क्षेत्रमा पनि जोखिम उच्च रहेको तथ्याङ्कले देखाएको छ । वन डढेलोले केवल रुखबिरुवा मात्र नष्ट गर्दैन। यसले जैविक विविधता, वन्यजन्तु, माटोको उर्वराशक्ति, जलस्रोत र वातावरणीय सन्तुलनमा गम्भीर असर पार्छ। डढेलोका कारण वातावरणमा धुवाँ र प्रदूषण बढेर मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्छ। कतिपय अवस्थामा यसले नजिकका बस्तीमा समेत क्षति पु¥याउने गरेको छ। वन नष्ट हुँदा वर्षा चक्रमा असर पर्ने, माटो कटान बढ्ने र प्राकृतिक विपद्को जोखिम समेत बढ्ने भएकाले यसको प्रभाव दीर्घकालीन हुन्छ।

वन डढेलो नियन्त्रणका लागि केवल सरकारी प्रयास मात्र पर्याप्त हुँदैन। यसका लागि तीनै तहका सरकार, स्थानीय समुदाय, वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ। नेपालमा सामुदायिक वन व्यवस्थापनको सफल अभ्यास भएकाले वन संरक्षणमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। यदि स्थानीय समुदाय सचेत र सक्रिय भयो भने धेरैजसो डढेलोका घटनालाई प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सकिन्छ । यस वर्ष पनि सप्ताहका अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय तथा समुदायस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण तथा सरसफाइ अभियान जस्ता गतिविधि सञ्चालन गरिने बताइएको छ। यस्ता कार्यक्रमले नागरिकलाई डढेलोको जोखिमबारे जानकारी दिनुका साथै रोकथामका उपायबारे पनि सचेत बनाउने अपेक्षा गरिएको छ।

तर यस्ता अभियानहरू केवल औपचारिक कार्यक्रममा सीमित हुन नदिनु पनि उत्तिकै आवश्यक छ। सप्ताह सकिएपछि पनि निरन्तर जनचेतना अभियान सञ्चालन गर्नुपर्छ। स्थानीय तहहरूले आफ्नो क्षेत्रमा जोखिमयुक्त वन क्षेत्रको पहिचान गरी पूर्वतयारीका कार्यक्रम अघि बढाउनुपर्ने हुन्छ। वन क्षेत्रमा अग्निरेखा निर्माण, निगरानी टोली गठन, सामुदायिक वन उपभोक्ता समूहलाई तालिम तथा आवश्यक उपकरण उपलब्ध गराउने जस्ता कार्यले डढेलो नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याउन सक्छ । यससँगै प्रविधिको प्रयोग पनि बढाउनुपर्ने आवश्यकता देखिन्छ। उपग्रह प्रविधि, डिजिटल निगरानी प्रणाली तथा समयमै सूचना आदानप्रदान गर्ने संयन्त्र विकास गर्न सके डढेलो नियन्त्रण अझ प्रभावकारी हुन सक्छ। वन क्षेत्रमा गस्ती बढाउने, जोखिमयुक्त गतिविधिमा निगरानी गर्ने र नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था पनि सुदृढ बनाउनु आवश्यक छ।

वन संरक्षण केवल वातावरणीय सरोकार मात्र होइन, यो आर्थिक, सामाजिक र सांस्कृतिक जीवनसँग पनि जोडिएको विषय हो। ग्रामीण समुदायको जीविकोपार्जन, पर्यटनको विकास, जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनसँग जुध्ने प्रयासमा वनको भूमिका अत्यन्त महत्वपूर्ण छ। त्यसैले वन डढेलो नियन्त्रणलाई पनि राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिनुपर्छ । वन डढेलो व्यवस्थापन सप्ताहले सरकार, समुदाय र सरोकारवाला सबैलाई यस विषयमा पुनः सजग गराउने अवसर प्रदान गरेको छ। तर यसको वास्तविक प्रभाव तब मात्र देखिनेछ जब हामी सबैले वन संरक्षणलाई आफ्नो साझा जिम्मेवारीका रूपमा स्वीकार गर्नेछौँ। सानो लापरवाहीले ठूलो क्षति निम्त्याउन सक्छ भने सानो सचेतनाले ठूलो विपद् टार्न सक्छ। यसर्थ, वन डढेलो रोकथाम र नियन्त्रणमा सरकार, स्थानीय समुदाय तथा प्रत्येक नागरिकको सक्रिय सहभागिता अत्यावश्यक छ। वन जोगाउनु भनेको भविष्य जोगाउनु हो भन्ने चेतना समाजमा स्थापित गर्न सके मात्र नेपालका हरियाली वनहरूलाई सुरक्षित राख्न सकिनेछ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker