बजार अनुगमन : पाउरोटीको उत्पदन र मिति फरक
राजकुमार आले (दुलेगौंडा)

जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार शुक्लागण्डकीमा संचालित पाउरोटी तथा बेकरी उद्योगहरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा खटिएको अनुगमन टोलीले कृष्ण पाउरोटी उद्योग बेलचौतरा, प्रिति बेकरी उद्योग मिलडाँडा, आयशा अरमान पाउरोटी उद्योग खैरेनीटार ओख्ले र सुर्य पाउरोटी भण्डार खैरेनीटारमा अनुगमन गरेको थियो । अनुगमन गर्दा उद्योगहरु निकै फोहोर र अव्यवस्थित रुपमा चलेको पाइएको थियो ।
सुर्य पाउरोटी भण्डारमा म्याद सकिएको एक पोका मैदा प्रयोग गरिरहेको अवस्थामा फेला पारी नष्ट गरियो । त्यस्तै उत्पादन भएका पाउरोटी तथा दुनोट, पपहरु खुल्ला रुपमा राखिएको, झिँगाहरु भन्किएको, कामदारहरुले व्यक्तिगत सरसफाईमा ध्यान नदिएको, म्याद भएका र सकिएका उत्पादित बस्तुहरु एकै ठाउँमा राखिएको, पाउरोटी आज उत्पादन गरेर भोलीको मिति राखिएको, एउटै मुल्यका बस्तुको फरक फरक तौल भेटिएको, आफ्नो उत्पादनको खोल अरुलाई दिइएको लगायतका समस्याहरु भेटिएको थियो । उद्योगका संचालकहरुलाई मंगलबार छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छ ।
उपभोक्ताहरुबाट बारम्बार गुनासो आएपछि अनुगमनमा निस्किएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । उनले अनुगमनको क्रममा कुनै पनि पाउरोटी तथा बेकरी उद्योगहरु नियम संगत र व्यवस्थित ढङ्गबाट चलेको नपाइएको बताए । ‘यहाँका अधिकांश उद्योगहरु फोहोर, व्यवस्थित तरिकाले नराखिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र नलिएको, नविकरण नगरिएको र व्यवस्थित तरिकाले नचलाएको पाइयो, हामीले खाद्य बस्तुहरुको नमुनाहरु संकलन गरेका छौँ, भोलि १० बजे (मंगलबार)उहाँहरुलाई छलफलका लागि प्रशासन कार्यालयमा बोलाएका छौ’, उनले भने, ‘कमजोरी ठहरिएमा उहाँहरुलाई खाद्य ऐन २०२३, उपभोक्ता संरक्षण ऐनको नियमावली अनुसार कारबाही पनि गर्र्छौ ।’
सम्बन्धित निकायबाट नियमित र प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरुले अखाद्यबस्तु उपभोग गर्नुपरेको गुनासो गरेका छन् । बर्षमा एक-दुइ पटक अनुगमन गर्दा यस्तो समस्या आएको हो, नियमित अनुगमन गर्नुपर्छ भन्ने लाग्दैन ? भन्ने प्रश्नमा सहायक प्रमुख जिल्ला अधिकारी बरालले कार्यालयको विभिन्न कामको चापले गर्दा अनुगमनलाई व्यवस्थित गर्न नसकेको बताउँदै अब महिनामा दुइ तीन दिन अनुगमनलाई छुट्याउने बताएका थिए ।
उनले भने, ‘कार्यालयको विभिन्न कामको चापले गर्दा अनुगमनलाई व्यवस्थित बनाउन सकेका छैनौ, तर बर्षमा एक पटक त होइन, हामीले प्राय महिना साउन, भदौ, असोज, कार्तिक र मंसिरमा पनि अनुगमन गर्र्यौ, अब यसलाई नियमित नै गर्ने तयारीमा छौँ, सकेसम्म प्रत्येक महिनामा दुइ-तीन दिन अनुगमनलाई छुट्याउने तयारीमा छौँ ।’ उनले खाद्यबस्तुदेखि निर्माण सामाग्रीहरुको मुल्यमा अधिक मुल्य लिने, कम गुणस्तरको सामान विक्रि भएको पाइएमा तुरुन्तै उजरी गर्न आग्रह समेत गरेका थिए ।










