तउवा संघको अधिवेशन : अध्यक्षमा सर्वसम्मत, अन्यमा निर्वाचन !

दमौली : तनहुँ उद्योग वाणिज्य संघको ४०औं वार्षिक साधारण सभा तथा १८औं महाधिवेशन आइतबारबाट दमौलीमा जारी छ । महाधिवेशन अन्तर्गत संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ ।
निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदमा इमकुमार मल्लको एकल उम्मेदवारी परेपछि सर्वसम्मत निर्वाचित हुने भएका छन् । अघिल्लो निर्वाचनमै मल्ललाई अध्यक्ष बनाउने सहमति भएको र हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा कुमार मल्ल र सुबोध अधिकारीको उम्मेदवारी परेको छ । भने, प्रथम उपाध्यक्ष पदका लागि दिनेशकुमार श्रेष्ठ, सुरेश पुरी र दीपक कोइरालाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
द्वितीय उपाध्यक्ष पदमा प्रकाशचन्द्र हड्खले, राजकुमार श्रेष्ठ र भिमलाल श्रेष्ठको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि शिवओम मल्ल, भूपाल आले मगर र महेशकुमार मल्लको उम्मेदवारी परेको छ ।
यसैगरी वस्तुगत सदस्य पदतर्फ अधिकृत विक्रेता संघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा तनहुँ र तनहुँ सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको छ ।
निर्वाचन प्रकिया अनुसार मंगलबारसम्म उम्मेदवारी फिर्ताको समय रहेको जनाइएको छ । उम्मेदवारी फिर्ता नभएमा बुधबार निर्वाचन पक्रियाबाट संघको नयाँ नेतृत्व चयन गरिने भएको छ ।










