स्वास्थ्य क्षेत्रको व्यवस्थापन सहित व्यास नगरपालिकाका आठ बुँदे निर्णय
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न आठ बुँदे निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य केन्द्रको व्यवस्थापन, पीसीआर प्रयोगशालामा जनशक्ति व्यवस्थापन, कर्मचारी समायोजन लगायतका कार्यलाई तीब्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो । बैठकले नगरपालिकाको साविक स्थानीय निकायका कर्मचारीहरुको समायोजन तथा स्तरबृद्धि गरिएकोमा अनुमोदन गर्ने निर्णय गरेको छ । व्यास-१० दुम्सी आधारभुत स्वास्थ्य केन्द्रमा २५ वेडको व्यास नगर कोभिड अस्पताल व्यवस्थापन गर्न सम्बन्धित वडाका अध्यक्ष तुलसिराम सापकोटाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
उक्त केन्द्रमा निर्माण भैरहेको पीसिआर प्रयोगशालामा आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गरिने भएको छ । व्यास-७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सोही वडा अध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा ५ सदस्यीय व्यवस्थापन समिति गठन गरिने भएको छ । नगरपालिका भित्र बाढीले पुर्याएको क्षतिलाई पुनःस्थापना गर्न नगरपालिका आफैले जाली बुन्ने कार्यमा पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने र नगरमा नगर प्रमुखको अध्यक्षतामा र वडामा वडाध्यक्षको अध्यक्षतामा विपद् व्यवस्थापन समिति संशोधित ऐन अनुसार पुनःगठन गरिने निर्णय भएको नगर प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी गराए ।
कर्मचारी समायोजन एवं स्तरबृद्धि पछि नगरपालिका संगठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगर सभा बस्नु पर्ने देखिँदा सम्बन्धित सबै पक्षसंग परामर्श गरी संशोधन प्रस्ताव १५ दिन भित्र पेश गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिने भएको छ ।
त्यस्तै, नगरपालिकामा व्यवसाय कर विविध कारणले उठ्न ढिलाई भएको हुँदा छुट सम्बन्धमा प्रस्ताव पेश गर्न राजश्व परामर्श समितिलाई जिम्मा दिने निर्णय गरिएको छ । व्यास-८ बर्लाचिमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी गराए । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समिति मार्फत आएका कुल १ हजार २०३ योजना सम्पन्न र टेण्डर प्रकृया मार्फ ७३ योजना सञ्चालनमा रहेकोमा ४२ सम्पन्न गरेको छ कोरोना भाइरस संक्रमणको जोखिम तथा विपद्का कारण ३१ योजना अधुरो अबस्थामा रहेको नगरपालिकाले जनाएको छ ।










