म्याग्दे गाउँपालिकामा भूमि आयोगको लगत संकलन कार्यालय स्थापना
भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको मंगलबार म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरेका छन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने सरकारको लक्ष्यबमोजिम गठन भएको आयोगले प्रभावकारीरुपमा काम सम्पन्न गर्नुपर्ने म्याग्दे गाउँपालिकाका मायादेवी रानाले बताइन् । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले आयोगले यो पटक जसरी पनि भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लगत संकलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहीनको लगत संकलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । ‘अब वडावडामा लगत संकलनका लागि संकलनकर्ता खटाउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
साथै आयोगका तर्फबाट आज नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । अभिमुखीकरणमा पालिकास्तरीय सहजीकरण समिति, वडास्तरीय सहजीकरण समिति र तथ्याङ्क संकलनकर्ता गरी ८० जनाको सहभागिता छ । तालीममा भूमिहीन सुकम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि फारम भर्ने तरिका सिकाइने आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले बताए ।
आयोगका अनुसार जिल्लाको व्यासनगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दिपुर गाउँपालिकामा पहिलो चरणमा सम्झौता गरी लगत सङ्कलनको कार्य भइरहेको छ । दोस्रो चरणमा म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ भने घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकामा कार्यक्रम हुन बाँकी छ ।










