अल्ट्रा म्याराथन प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न समिति गठन

दमौली : तनहुँको व्यास नगरपालिकाले अगामि माघ १६ गते सञ्चालन गर्न लागेको ४४ किलोमिटर दुरीको अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालनका लागि विभिन्न समिति गठन गरेको छ ।
नगरकार्यपालिकाको बुधबार सम्पन्न २३०औँ बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको हो ।
नगर प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङस्थित शहीद पार्कसम्म ४४ किलोमिटर अल्ट्रा म्याराथन प्रतियोगिताको व्यवस्थापनका लागि उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति तथा नगर खेलकुद समितिका अध्यक्षको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । साथै, शाखागत रूपमा प्रशिक्षण, मञ्च तथा रुट व्यवस्थापन, प्रचार–प्रसार, यातायात र सुरक्षा व्यवस्थापनका जिम्मेवारी तोकिएका छन् ।
त्यस्तै, ४४औँ नगरसभाबाट पारित विभिन्न प्रस्तावहरूको कार्यान्वयन अवस्थाबारे छलफल गर्दै सम्बन्धित शाखालाई बाँकी कार्य छिटो सम्पन्न गर्न निर्देशन दिइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिता सम्बन्धित सबै पदाधिकारीले कडाइका साथ पालना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक अवस्थाबारे जानकारी दिइएको छ। कुल प्रक्षेपित आय १ अर्ब ८१ करोड ७६ लाख १९ हजार रुपैयाँमध्ये पौष मसान्तसम्म ७१ करोड ४६ लाख ५० हजार ३८१ रुपैयाँ प्राप्त भई ४६ करोड ४७ लाख ३८ हजार ३९५ रुपैयाँ खर्च भएको जनाइएको छ । नगरपालिकाले आन्तरिक आयतर्फ २० करोड प्रक्षेपण गरेकोमा ६ करोड ४९ लाख ४३ हजार ४७३ रुपैयाँ प्राप्त गरेको छ ।










