वैदेशिक रोजगारीमा ठगिने क्रम बढ्दो, रोजगारीका क्रममा तनहुँका ३७ जनाले ज्यान गुमाए

दमौली : वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । दलालको भरपर्दा ठगिने क्रम बढेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रकी जिल्ला संयोजक लुना रानामगरले म्यानपावर कम्पनीको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा ठगिएको केश बढी आउने गरेको बताइन ।
यस्तै, वैदेशिक रोजगारीमा गएका तनहुँका ३७ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले उक्त तथ्याङ्क सार्वजनिक गरेको छ ।
सामीको जिल्ला कार्यक्रम संयोजक रानाले विहीबार दमौलीमा एक कार्यक्रमका बीच चालु आर्थिक वर्षको हालसम्म सम्पादन गरिएका कार्यक्रमका विषयमा जानकारी गराउँदै जिल्लाको १० वटै पालिकामा यो अवधिमा ३७ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको तथ्याङ्क संकलन भएको जानकारी गराइन् ।
सामीको निःशुल्क कानुनी सहायता (न्यायमा पहुँच) कक्षामा यस आर्थिक वर्ष सम्पर्कमा आएका २६ जना र साउदी अरेबियामा कार्यरत कामदारहरूको सामाजिक सुरक्षा प्रणालीसँग सम्बन्धित गोसीले उपलब्ध गराएको तथ्याङ्क सहित गरी वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या ३७ रहेको संयोजक रानाले जानकारी गराइन् ।
यस्तै, सामीको सम्पर्कमा आएका २६ जना मध्ये १७ जना मृतकका परिवारलाई ५ करोड ९० लाख ८७ हजार २८७ रुपैयाँ आर्थिक सहजिकरण गरिएको र ९ जनाको सहजिकरण प्रक्रियामा रहेको उनले जनाइन ।
सामीको सम्पर्कमा आएका र गोसीले उपलब्ध गराएको तथ्याङ्क अनुसार व्यास नगरपालिकाका ८ जना, शुक्लागण्डकीका ७, भिमादका ४, भानुका ४, म्याग्देका १, बन्दीपुरका ४, घिरिङ ३, ऋषिङ २ र अन्य जिल्लाका ४ गरी ३७ जनाको रोजगारीका क्रममा मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा तनहुँमा ठगीका केश १२०, जेल सम्बन्धी ४, स्वास्थ्य उपचार÷पारिवारिक स्वास्थ्य उपचार २३, उद्दार २२, अन्य ६ वटा केश दर्ता हुन आएकोमा १०८ वटा केश समाधान गरिएको र ७ करोड २२ लाख ९ हजार २५७ रुपैयाँ आर्थिक सहजिकरण गरिएको जिल्ला संयोजक रानाले जानकारी गराइन ।
यस्तै, सामी तनहुँले रिटर्नि स्वयंसेवकद्वारा व्यास, शुक्लागण्डकी, भिमाद, म्याग्दे, बन्दीपुर, देवघाट र घिरिङमा २ हजार ८५१ महिला र २ हजार ७७३ जना गरी ५ हजार ६२४ जनामा सूचना प्रवाह गरेको छ । समुदायस्तरमा गहन अभिमुखीकरण कार्यक्रममा २ हजार ९१९ महिला र २ हजार ८३७ पुरुष गरी ५ हजार ७५६ जनालाई सहभागि गराई सहजिकरण गरिएको छ ।
सामीले वित्तीय साक्षरता कार्यक्रममा यी पालिकामा २१ हप्ताको कक्षा संख्यामा १४, कक्षामा सहभागि ३७५ जना, विद्यालयमा वित्तीय साक्षरता १ हजार १८४ जना, समुदायस्तरमा १ दिने वित्तीय साक्षरता तालिममा १ हजार १०६ जना र सरोकारवालाहरुका लागि ३ दिने वित्तीय साक्षरता तालिममा ५८३ जना गरी ३ हजार २४८ जनालाई सहजिकरण गरिएको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी गराइन ।
वैदेशिक रोजगारीमा जानेलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ । सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क परामर्श, आवश्यक कानुनी सहायता र सीपमूलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ ।
आफन्त तथा बिचौलियाको लहलहैमा लाग्दा ठगिने क्रम बढेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । स्वीस सरकारको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएपनि हाल सहयोग कार्यक्रम रोकिएकाले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा सामी कार्यक्रमलाई निरन्तरता दिंदै आएको उनले बताए ।
नगरप्रमुख न्यौपानेले भने, ‘विदेश जान पाए हुन्थ्यो भनेर हतारिएर रकम दिने गरेकाले ठगिने गरेको पाइएको छ । राम्रोसँग बुझेर मात्रै विदेश जानुपर्ने र स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयमा रहेको परामर्श केन्द्रमा पुगी राम्रोसँग बुझेर मात्रै विदेश जानुपर्छ भन्ने सचेतना जगाउन सबैको हातेमालोको आवश्यकता देखिएको छ ।’
मलेसिया, साउदी, दुबई, माल्ट्रा र रोमानियाका साथै पछिल्लो समय अमेरिका, क्यानडा, अस्ट्रेलिया, पोल्यान्ड, कोरिया र जापान पठाउने भनेर रकम मागेर पनि ठगी गर्ने क्रम बढ्दै गएको केन्द्रले जनाएको छ ।