विज्ञान शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा त्रिभुवन मावि प्रथम

भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा जारी प्रथम भानु नगर महोत्सव–२०८१ मा आयोजित विज्ञान शैक्षिक सामाग्री प्रदर्शनीमा भानु–११ मानेचौकास्थित त्रिभुवन माध्यमिक विद्यालय प्रथम भएको छ ।
भानु नगर उद्योग वाणिज्य संघको आयोजना, भानु नगरपालिकाको प्रबर्द्धन र यसटिएएन भानुसँगको सहकार्यमा महोत्सव स्थलमा आयोजित भानु नगरस्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता २०८१ मा भानु नगरका ६ वटा विद्यालयहरू सहभागी रहेका थिए ।

उक्त प्रतियोगितामा श्री कर्मदा मावि भानु–९ पुर्कोट बाइसजङ्घार द्धितीय, होमराज लोहनी शाशिस मावि भानु–२ नारेश्वरटार तृतीय र श्री चन्द्रावती मावि भानु–७ चुँदीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा पवित्रा मावि डुम्रेका माध्यमिक विज्ञान शिक्षक नारायण गुरूङ र विष्णु मावि बन्दीपुर–१ नाहालाका माध्यमिक विज्ञान शिक्षक तथा प्रधानाध्यापक ऋषिराम ढकालले प्रदर्शनीको मूल्याङ्कन गरेका थिए ।

प्रतियोगिताको पुरस्कार र प्रमाणपत्र वितरण महोत्सव समापनका दिन पौष २१ गते प्रदान गरिने भएको छ । प्रदर्शनीको सफलता र सहभागी विद्यालयहरूको लगनशीलताका कारण भविष्यमा पनि यस्ता शैक्षिक, नवप्रवर्तनात्मक र सिर्जनशील कार्यक्रमहरूको आयोजनामा अझ व्यापक सहभागिता रहने भानु नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।











