तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ : तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित तरकारी र धान जोन कार्यक्रमले खेती विस्तारसँगै किसानलाई संगठित गरी उत्पादनलाई व्यावसायिक बनाउन सहयोग पु¥याएको छ ।

कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता २१८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर खेतीयोग्य क्षेत्रफल विस्तार भएको छ । दुवै कार्यक्रममार्फत खेतीको क्षेत्रफल कुल ३०३ हेक्टर बढेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा सुरु गरिएको तरकारी जोन कार्यक्रम अन्तर्गत प्रारम्भमा ५०५ हेक्टर क्षेत्रफल समेटिएको थियो । अहिले उक्त क्षेत्रफल बढेर ७२३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल ४३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा आएको धान जोन कार्यक्रमको क्षेत्रफल पनि पाँच सय हेक्टरबाट बढेर ५८५ हेक्टर पुगेको छ । धान खेतीको क्षेत्रफलमा १७ प्रतिशत वृद्धि भएको हो ।

तरकारी जोन कार्यक्रम आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा सञ्चालन भइरहेको छ। यस कार्यक्रम अन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमी आबद्ध छन् । कार्यक्रमबाट एक हजार ९८९ जना लाभान्वित भएको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिए ।

धान जोन कार्यक्रम व्यास नगरपालिका–८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा सञ्चालन भइरहेको छ । यसअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमी सहभागी छन् । कार्यक्रमबाट एक हजार ८३८ जना लाभान्वित भएका छन् ।

तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमले किसान, सहकारी, कृषक समूह तथा कृषि उद्यमीलाई एउटै प्रणालीमा आबद्ध गरी कृषि गतिविधि अघि बढाउन सहयोग पुर्याएको छ । उत्पादन क्षेत्र विस्तारसँगै खेतीलाई व्यवस्थित बनाउने र कृषि उद्यममा किसानको सहभागिता बढाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

तरकारी र धान जोन कार्यक्रमबाट हालसम्म कुल तीन हजार ८२७ जना लाभान्वित भएको तथ्याङ्क छ । खेतीको क्षेत्रफल विस्तार र किसानको सहभागिताले जिल्लामा व्यावसायिक कृषि विकासको सम्भावना बढाएको देखिए पनि उत्पादन, उत्पादकत्व र किसानको आम्दानीमा परेको प्रभाव मापन गर्न थप तथ्याङ्क आवश्यक देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker