भजन प्रतियोगितामा जलेश्वर समूह प्रथम, लोकसंस्कृति संरक्षणमा जोड

दमौली : तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर आश्रममा सम्पन्न भजन प्रतियोगितामा जलेश्वर भजन समूह प्रथम भएको छ। पराशर आश्रम संरक्षण समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा व्यास–५ जलेश्वर संस्कृत भजन समूहले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको हो । व्यासज्योति धर्म जागरण भजनकीर्तन समूह द्वितीय, आदिकवि भानुभक्त मावि तृतीय तथा नवआदर्श आमा समूह सान्त्वना भएका छन् ।
निर्णायक समितिका संयोजक ऋषिराम ढुङ्गानाका अनुसार विजेता समूहलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा सम्पन्न प्रतियोगिताले पछिल्लो समय ओझेलमा पर्दै गएको भजन परम्परालाई पुनर्जीवित गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा आठ समूहको सहभागिता रहेको थियो । सहभागी समूहहरूले धार्मिक भजनसँगै स्थानीय इतिहास, संस्कृति र परम्परालाई प्रस्तुत गरेका थिए । विशेषगरी जलेश्वर संस्कृत भजन समूहले व्यास र पराशर ऋषिको उत्पत्तिलाई भजन र अभिनयको संयोजनमार्फत प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध बनेका थिए ।
समितिका सचिव महेन्द्र गिरीले भजन केवल धार्मिक अभिव्यक्ति मात्र नभई सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण आवश्यक रहेको बताए ।
लोकभजन संरक्षणमा नगरपालिका सक्रिय
यस्तै, व्यास नगरपालिकाले लोकभजन संरक्षण र पुस्तान्तरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न पहल थालेको जनाएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको भजन–कीर्तन परम्परालाई जोगाउन नियमित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने बताए।
उनका अनुसार स्थानीय अग्रज, भजन गायक तथा संस्कृतिकर्मीको सहयोगमा पुराना भजन, धुन र शैली संकलन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना रहेको छ ।
त्यस्तै, व्यास प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले अन्तरपुस्ता संवादमार्फत संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताए। स्थानीयवासीका अनुसार यस्ता कार्यक्रमले हराउँदै गइरहेको मौलिक भजन परम्परालाई पुनर्जीवित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।










