आँबुखैरेनी गाउँपालिका : स्वास्थ्य सेवा विस्तारसंगै विशेषज्ञ र समुदायमुखी कार्यक्रम
‘भवनभन्दा सेवा ठूलो’ भन्ने सन्देशका साथ स्वास्थ्य सेवा उपलब्ध गरेका छौं : अध्यक्ष चुमान
शुक्र चुमान
अध्यक्षः आँवुखैरेनी गाउँपालिका
आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सेवालाई सहज, सर्वशुलभ र पहुँचयोग्य बनाउने गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यही उद्देश्यका साथ गाउँपालिकाका पूर्ण लगानी र व्यवस्थापनमा सञ्चालन गरिएको आँबुखैरेनी अस्पताल यतिबेला ग्रामीण स्वास्थ्य सेवाको एक सफल र अनुकरणीय मोडेलका रूपमा स्थापित हुँदै गएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, ‘सीमित स्रोतसाधनबीच पनि स्थानीय सरकारले प्रभावकारी स्वास्थ्य सेवा कसरी दिन सक्छ भन्ने उदाहरणका रूपमा यो अस्पताल उभिएको छ ।’
गाउँपालिकाको वडा नं. ३ मा गाउँकार्यपालिकाको कार्यालयसँगै रहेको यो अस्पताल स्थापनाको छोटो अवधिमै आधारभूतदेखि मध्यमस्तरका सेवा विस्तार गर्न सफल भएको छ । अझ महत्वपूर्ण विषय अस्पतालको आफ्नै आधुनिक भवन अझै पूर्ण रूपमा निर्माण भइनसक्दा पनि सेवा निरन्तर विस्तार भइरहेकाले यसको व्यवस्थापन शैलीप्रति चासो बढेको अध्यक्ष चुमानले बताए ।
गाउँपालिका अध्यक्ष चुमान भन्छन्, ‘जनतालाई चाहिएको सुलभ र गुणस्तरीय सेवा हो, भवन ठूलो कि सानो भन्ने कुरा गौण हुन्छ । सोही मान्यतलाई आत्मसाथ गर्दै हामीले स्वास्थ्य सेवालाई प्रभावकारी ढंगबाट अगाडि बढाउँदै लगेका छौं ।’

गाउँपलिकाका अध्यक्षमा निर्वाचित भएर आएसंगै साविक स्वास्थ्य चौकी, वडा कार्यालय, सभा हल र बन कार्यालयको संरचना उपयोग गर्दै आवश्यक थप पूर्वाधार निर्माण गरी अस्पताल सञ्चालनमा ल्याइएको हो। निर्वाचनपछि चार महिनामै अस्पताल सुरु गर्नु चुमानको प्राथमिकतामध्ये एक थियो ।
संघ र प्रदेशबाट अपेक्षित सहयोग नपाएपछि गाउँपालिकाले आफ्नै स्रोतबाट मेडिकल अधिकृतसहित सेवा सुरु गरेको उनी बताउँछन् । अध्यक्ष चुमान भन्छन्, ‘गुनासो मात्र गर्ने होइन, पहल लिनुपर्छ भन्ने सोचका साथ अस्पताल अघि बढायौं।’
चुमानका अनुसार स्वास्थ्य सेवा विस्तार गर्नु केवल विकासको मुद्दा मात्र होइन, भावना र दायित्वसँग जोडिएको विषय हो । उनले भने, ‘ग्रामीण क्षेत्रमा सुत्केरी महिलाले समयमै जाँच सेवा नपाउनु, सामान्य ज्वरो हुँदा समेत चितवन वा पोखरा धाउनुपर्ने बाध्यता, यातायात खर्चकै कारण उपचारमा ढिलाइ हुने समस्याका विषयमा स्थानीय अस्पतालको आवश्यकता खड्किएपछि हामी अगाडि बढेका हौं ।’
‘राति बिरामी हुँदा उपचार नपाएर पीडा भोग्नु पर्ने अवस्था अन्त्य गर्न २४सैं घण्टा सेवा दिने अस्पताल आवश्यक थियो’, उनले भने, ‘अस्पतालले अहिले बहिरंग, आकस्मिक, भर्ना, शल्यक्रिया, ल्याब, एक्स–रे, अल्ट्रासाउन्ड लगायत सेवा प्रदान गर्दै आएको छ ।’

त्यस्तै, आँवुखैरेनी अस्पतालमा डायलाइसिस -मिर्गौला बिरामीका लागि), फिजियोथेरापी, डेन्टल तथा आँखा उपचार, सुरक्षित सुत्केरी तथा नवजात सेवा उपलब्ध छन् । अस्पतालमा हाल मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्स, प्राविधिक कर्मचारीसहित करिब ४७ जना जनशक्ति कार्यरत रहेका छन् ।
अस्पतालमा सुत्केरी अपरेशन, हयी जोड्ने शल्यक्रिया र हर्नियाजस्ता अपरेशन स्थानीयमै सम्भव भएपछि बिरामीलाई बाहिर जानुपर्ने बाध्यता घटेको छ । पृथ्वी राजमार्ग नजिकै रहेको यो अस्पतालले सडक दुर्घटनाका घाइतेको तत्काल उपचारमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । गाउँपालिकाले विशेषज्ञ सहितको उपचार सेवा विस्तार गर्दै लगेपछि पहिले सामान्य उपचारका लागि समेत बाहिर जानुपर्ने अवस्थाबाट मुक्त हुँदै गएको स्थानीय बताउँछन् ।
यस्तै, कोभिड महामारीताका मिर्गौला बिरामीहरूले हप्तामा दुई पटक बाहिर गएर डायलाइसिस गर्नुपर्ने बाध्यता भोगेका थिए । त्यसले आर्थिक र मानसिक दुवै पीडा थपेको थियो । यसैलाई ध्यानमा राख्दै अस्पतालमा डायलाइसिस सेवा सुरु गरिएको अध्यक्ष चुमान बताउँछन् । उनका अनुसार अहिले करिब ४० जना बिरामीलाई नियमित सेवा लिइरहेका छन्।
पछिल्ला तीन वर्षमा अस्पतालमा आउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ । वार्षिक २० हजारभन्दा बढी बिरामी सेवा लिने, ओपिडी, आकस्मिक, ल्याब, एक्स–रे, अल्ट्रासाउन्ड सेवामा उल्लेख्य वृद्धि भएको छ । शल्यक्रिया र सुत्केरी सेवामा समेत विस्तार हुँदा अस्पतालप्रतिको विश्वास बढ्दै गएको अध्यक्ष चुमान बताउँछन् ।

यस्तै, अस्पतालले विपन्न, असहाय र विद्यार्थीलाई निःशुल्क वा सहुलियतमा सेवा दिँदै आएको छ । शुल्क स्वास्थ्य बीमा बोर्डले तोकेकोभन्दा कम राखिएको छ । साथै, आँखा शिविर, डेन्टल क्याम्प, पाठेघर क्यान्सर परीक्षण, क्षयरोग तथा नसर्ने रोग सम्बन्धी शिविर सञ्चालन गरिँदै आएको छ ।
उल्लेखनीय उपलब्धिका बाबजुद अस्पतालका चुनौतीहरू पनि थुप्रै रहेका छन् । पर्याप्त भवन र पूर्वाधारको अभाव, सीमित स्रोत र जनशक्ति अभाव, पूर्ण रूपमा निःशुल्क सेवा दिन नसकिएको अवस्थाबाट अस्पताल गुज्रनु परेको छ । अध्यक्ष चुमान भन्छन्, ‘संघ र प्रदेशबाट स्रोत समानीकरण र जनशक्ति व्यवस्थापनमा सहयोग भए स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सकिन्छ ।’
आँबुखैरेनी अस्पतालले स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य संस्थाले पनि प्रभावकारी सेवा दिन सक्छ भन्ने सन्देश दिएको छ । ‘भवनभन्दा सेवा ठूलो’ भन्ने सोचका साथ अघि बढेको यो पहलले ग्रामीण स्वास्थ्य सेवामा नयाँ मानक स्थापित गर्दै गएको छ । जहाँ उपचारका लागि टाढा जानुपर्ने बाध्यता घट्दैछ र नागरिकको जीवन सहज बन्दै गएको उदहारण समेत यो अस्पतालले प्रस्तुत गर्दै आएको छ ।
अगमराज उपाध्याय
स्वास्थ्य शाखा प्रमुख
आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै सेवा विस्तार, पूर्वाधार विकास र समुदायमा आधारित कार्यक्रममार्फत उल्लेखनीय प्रगति गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार २२ हजार २५२ जनसंख्या रहेको यस पालिकामा आधारभूतदेखि विशेषज्ञ सेवासम्मको पहुँच विस्तार भइरहेको छ।
गाउँपालिकाभित्र ४ वटा आधारभूत स्वास्थ्य केन्द्र, २ वटा स्वास्थ्य चौकी, २ वटा शहरी स्वास्थ्य केन्द्र र १ वटा नगर अस्पताल सञ्चालनमा छन् । तीमध्ये आँबुखैरेनी अस्पताल २४सै घण्टा सेवा प्रदान गर्ने मुख्य केन्द्रका रूपमा रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी गराए ।
‘गाउँपालिकाले आँबुखैरेनी अस्पताललाई आधारभूत अस्पतालको ‘हब’का रूपमा विकास गर्ने लक्ष्य लिएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षदेखि हाडजोर्नी विशेषज्ञसहित विशेष सेवा सुरु गरिएको छ भने अन्य विशेषज्ञ सेवा क्रमशः थप्दै लगिने योजना छ ।’ उनका अनुसार रोकथाममुखी स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै ‘घरमै डाक्टर’ कार्यक्रम सञ्चालन गरिएको छ, जसअन्तर्गत ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिइन्छ । साथै राजमार्ग केन्द्रित ट्रमा अस्पताल सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग पहल भइरहेको छ ।

पालिकामा ३ स्थानमा प्रसूति सेवा उपलब्ध छ भने आँबुखैरेनी अस्पतालमा प्रयोगशाला, एक्स-रे र भिडियो एक्स–रे लगायतका सबै सेवा उपलब्ध छन् । २ वटा एम्बुलेन्स सेवा सञ्चालनमा छन् र सबै वडामा सहज पहुँच रहेको छ । थप एउटा एम्बुलेन्स भारतीय सरकारको अनुदानमा सञ्चालनको तयारीमा छ । रिफरल प्रणाली जिल्ला तथा प्रदेश अस्पतालसँग सहज समन्वय हुने गरी व्यवस्थापन गरिएको छ ।
पालिकाका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार ७५ भन्दा बढी जनशक्ति आवश्यक भए पनि हाल ७८ जना कार्यरत छन् । हाडजोर्नी तथा नसारोग विशेषज्ञ १ जना र स्त्रीरोग तथा जनरल फिजिसियन १ जना उपलब्ध छन् । दुर्गम क्षेत्रमा जनशक्ति टिकाउन भौतिक संरचना सुधार र पुनर्निर्माणलाई प्राथमिकता दिइएको प्रमुख उपाध्यायले जानकारी गराए ।
पालिकामा सबै सुत्केरी संस्थागत रूपमा हुने गरेका छन्, वार्षिक ११२ भन्दा बढी प्रसूति सेवा प्रदान हुँदै आएको छ। १३ वटा खोप सेसनमार्फत प्रत्येक महिनाको ६–८ गते सबै वडामा खोप सेवा सञ्चालन हुन्छ भने अस्पतालबाट पनि नियमित खोप दिइन्छ । कुपोषण नियन्त्रणका लागि पोषण कर्नर स्थापना, नियमित तौल मापन, रिफरल व्यवस्था तथा किशोर–किशोरीलाई आइरन वितरण जस्ता कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ ।

पालिकामा पेटसम्बन्धी रोग, ट्रमा, सडक दुर्घटना, इन्जुरी र ज्वरो प्रमुख स्वास्थ्य समस्या रूपमा देखिएका छन् । नसर्ने रोग नियन्त्रणका लागि निःशुल्क जाँच तथा परीक्षण सेवा उपलब्ध छ, अस्पतालमा दैनिक सुगर र थाइराइड परीक्षण गरिन्छ । मानसिक स्वास्थ्यका लागि टोलटोलमा मनोसामाजिक परामर्शकर्ता परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
पछिल्ला वर्षहरूमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । सुत्केरी शल्यक्रिया सेवा सञ्चालन, डायलाइसिस सेवा सुरु, दन्त, फिजियोथेरापी र आयुर्वेद सेवा विस्तार, हाडजोर्नी तथा नसारोग शल्यक्रिया, आँखा स्वास्थ्य सेवा, छिम्केश्वरी स्वास्थ्य चौकी भवन निर्माण, गाउँ–गाउँमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुँदै आएका छन् ।
भौगोलिक विकटता, सीमित आर्थिक स्रोत र जनशक्ति व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेका छन् । संघ र प्रदेश सरकारसँग दरबन्दीअनुसार जनशक्ति उपलब्ध गराउने, पर्याप्त बजेट विनियोजन गर्ने र समयमै कानुन निर्माण गर्ने अपेक्षा गरिएको छ । सेवाग्राही सन्तुष्टि विभिन्न माध्यमबाट मापन गरिएको छ र प्रतिक्रिया सन्तोषजनक रहेको स्वास्थ्य शाखाले जनाएको छ । गुनासो व्यवस्थापन, अनुगमन तथा सेवा विस्तारमा पालिका नेतृत्व सक्रिय देखाउने गरिएको बताइएको छ ।

स्वास्थ्य सेवामा डिजिटल प्रणाली विकास, गाउँ–गाउँमा सेवा पहुँच विस्तार, थप जनशक्ति परिचालन गर्ने योजनामा गाउँपालिका रहेको छ । गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिँदै पूर्वाधार, जनशक्ति र सेवा विस्तारमा उल्लेखनीय काम गरेको छ । यद्यपि चुनौतीहरू अझै कायम रहे पनि योजनाबद्ध प्रयासले गाउँपालिकालाई ग्रामीण स्वास्थ्य सेवाको नमुना केन्द्र बनाउने दिशामा अघि बढाएको देखिन्छ ।










