शुक्लागण्डकीका नगरप्रमुख सहित तनहुँका ११ जनालाई कोरोना संक्रमण पुष्टि

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङ सहित तनहुँमा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज सार्वजनिक गरेको विवरणमा शुक्लागण्डकीका नगरप्रमुख सहित ५ जना, भानु नगरपालिकाका १ जना र घिरिङ गाउँपालिकाका ५ जनालाई संक्रमण पुष्टि भएको छ ।
सार्वजनिक विवरण अनुसार भानु नगरपालिका-१२ का ५५ वर्षीय पुरुष, शुक्लागण्डकी-४ का ५१ वर्षीया महिला र ५० वर्षीय पुरुष, शुक्लागण्डकी ७ का १३ वर्षीया बालिका, ६६ र ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।
यस्तै, विवरणम घिरिङ गाउँपालिका-३ की ५२ वर्षीया महिला र घिरिङ-१ का २६, ३२, १७ र २४ वर्ष उमेर समुहका पुरुषम संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा कार्यालयका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेका ५० बर्षीय गुरुङले आइतबार नमुना परीक्षणका लागि स्वाव दिएका थिए । मेयर गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले घरमै आइसोलेट भएर बस्नु भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।










