स्वास्थ्य कार्यालय तनहुँद्वारा प्रगति विवरण सार्वजनिक
भञ्ज्याङ न्यूज

स्वास्थ्य कार्यालय तनहुँले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले विहीबार पत्रकार सम्मेलन गरी चैत्रसम्ममा बेरुजु शून्य रहेको र बजेटको प्रगति पनि ५० प्रतिशत रहेको जनाएको छ । कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले प्रदेश र संघको बजेटमा तनहुँ ५० प्रतिशत प्रगतिमा रहेको बताए । उनले तालिम नलिएका स्वास्थ्यकर्मीलाई तालिम, परिवार नियोजन निःशुल्क बन्ध्याकरण सिविर, नवजात शिशुको उपचार सम्बन्धी तालिम लगायतलाई प्रगतिको रूपमा लिएको जानकारी गराए ।
यस्तै कार्यालयले प्रदेश तथा जिल्ला स्तरमा खोप अभियानको समीक्षा गर्ने, पूर्ण खोप घोषणा तथा सुत्केरी महिलाको घर घरमा स्वास्थ्यकर्मी तालिम दिने लगायतका कामका योजनाहरू रहेको छ ।
कार्यालयले धेरै गतिविधि र प्रगति गर्दागर्दै पनि विभिन्न समस्या झेल्दै आएको प्रमुख अधिकारीले बताए । उनले भने उपयुक्त समयमा समन्वयको अभाव, विभिन्न समयमा थपिएको कार्यक्रम, दक्ष तथा तालिम प्राप्त कर्मचारीको अभाव, विनियोजित कार्यक्रमको बजेट सहि ढंगले विनियोजन नहुनु जस्ता विषयले कार्यालयले समस्या झेल्नु परेको बताए ।
कार्यालयले तनहुँमा टाइफाइड विरूद्धको खोप केन्द्र ४७१ रहेको र ९२ प्रतिशत प्रगति भएको जनाएको छ । पत्रकार अन्तरक्रियामा कोभिड विरूद्धको खोप अभियान पहिलो चरणमा १०० प्रतिशत र दोस्रो चरणमा ९३ प्रतिशत रहेको कार्यालयका फोकल पर्सन सुदिप कँडेलले जानकारी गराएका थिए ।










