‘समृद्ध भविष्यको आधार: जलवायुमैत्री एवं प्रकृतिमैत्री विकास’ नारासहित तनहुँमा वृक्षारोपण

दमौली : विश्व वातावरण दिवस २०८३ को अवसरमा ‘समृद्ध भविष्यको आधार: जलवायुमैत्री एवं प्रकृतिमैत्री विकास’ भन्ने राष्ट्रिय नारासहित तनहुँमा वृक्षारोपण कार्यक्रम गरिएको छ।
कर्मचारी मिलन केन्द्र, तनहुँका अध्यक्ष तथा डिभिजन वन अधिकृत मनोज रानाभाटको अध्यक्षता आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलन केन्द्रका संरक्षक शिवलाल तिवारी, व्यास नगरपालिका–४ का वडा अध्यक्ष मनबहादुर गुरुङ, सामुदायिक वनका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, जिल्ला प्रहरी कार्यालय तनहुँका नेपाल प्रहरी तथा वन रक्षक टोली लगायतको सहभागितामा वृक्षरोपण गरिएको थियो ।
विश्व वातावरण दिवसको अवसर पारेर आयोजित वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न वन तथा वातावरण संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै वृक्षारोपणलाई जनआन्दोलनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
उनीहरूले ‘समृद्ध भविष्यको आधार: जलवायुमैत्री एवं प्रकृतिमैत्री विकास’ भन्ने नाराले वातावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोग तथा जलवायु अनुकूल विकासलाई प्राथमिकतामा राख्न प्रेरित गर्ने बताएका थिए। वातावरणीय सन्तुलन कायम राख्न तथा भावी पुस्ताका लागि स्वच्छ र हरित वातावरण निर्माण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा समेत व्यक्त गरिएको थियो।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले सहजीकरण गरेका कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताएका थिए।
आयोजकका अनुसार वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै हरित विकासको अवधारणालाई व्यवहारमा उतार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।










