सम्पादकीय : सामाजिक सञ्जाल र पर्यटन प्रवर्द्धन – अवसर कि चुनौती ?

आजको युग प्रविधिको युग हो। मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको पहुँच आज गाउँ–बस्तीदेखि सहरसम्म फैलिएको छ। अधिकांश मानिसको हातमा स्मार्टफोन छ र उनीहरू कुनै न कुनै सामाजिक सञ्जालमा सक्रिय छन्। प्रविधि आफैंमा न त पूर्ण रूपमा राम्रो हुन्छ, न त खराब। यसको प्रयोग कसरी, कहिले र कुन उद्देश्यका लागि गरिन्छ भन्ने कुराले नै त्यसको परिणाम निर्धारण गर्छ। सही ढंगले प्रयोग गर्न सकियो भने प्रविधि विकासको साधन बन्छ, अन्यथा समस्या र विकृतिको कारण पनि बन्न सक्छ। पछिल्लो समय सामाजिक सञ्जालले पर्यटन प्रवद्र्धनमा खेलेको भूमिका यसैको ज्वलन्त उदाहरण हो ।

नेपाल जस्तो प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण देशका लागि पर्यटन विकासको अपार सम्भावना छ। हिमाल, पहाड, तराई, नदी, झरना, ताल, गुफा, मठ–मन्दिर, ऐतिहासिक किल्ला र मौलिक संस्कृतिले नेपाललाई अद्वितीय बनाएको छ। यस्ता सम्पदाको पहिचान, प्रचार र प्रवर्द्धनका लागि विगतमा सरकारी निकाय, पर्यटन बोर्ड, पत्रपत्रिका र रेडियो नै मुख्य माध्यम हुन्थे। पर्यटकहरू किताब पढेर, रेडियो सुनेर वा ट्राभल एजेन्सीको भरमा गन्तव्य रोज्थे। तर समय बदलिएको छ । अहिले पर्यटकले गन्तव्य छनोट गर्दा सामाजिक सञ्जालमा देखेको भिडियो र तस्बिरलाई आधार बनाउने गरेका छन् ।

फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालले पर्यटन प्रवर्द्धनमा नयाँ ढोका खोलेका छन्। कुनै पनि पर्यटकीय स्थलको फोटो वा भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि केही सेकेन्डमै विश्वका कुनाकुनासम्म पुग्न सक्छ । “यो कहाँ हो ?”, “कसरी जाने ?”, “कति खर्च लाग्छ ?” जस्ता जिज्ञासा तत्कालै उठ्छन्। यसरी सामाजिक सञ्जालले पर्यटकको ध्यान तान्ने काम गरेको छ। धेरै ठाउँ त यस्ता छन्, जुन सरकारी सूचीमा खासै नपरेका भए पनि सामाजिक सञ्जालकै कारण चर्चामा आएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थलहरू यसको उदाहरण हुन् ।

तनहुँको मानहुँकोट, तनहुँसुर, ट्रीहाउस, रक गार्डेन, छिम्केश्वरी, व्यास क्षेत्र, बन्दीपुर, दुबुङ भ्यू टावरलगायतका स्थानहरू पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका छन्। यस्ता भिडियो र तस्बिर हेरेर मात्रै पनि आन्तरिक पर्यटक ती स्थलसम्म पुग्न थालेका छन्। कुनै बेला कोरोना महामारीका कारण सुनसान बनेका ग्रामीण पर्यटकीय क्षेत्र अहिले फेरि चहलपहलले भरिन थालेका छन्। यसमा सामाजिक सञ्जालको योगदान अस्वीकार गर्न सकिँदैन ।

सामाजिक सञ्जालले केवल पर्यटन प्रवद्र्धन मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन पनि सहयोग गरेको छ । पर्यटक बढेपछि होमस्टे, होटल, चिया पसल, यातायात, स्थानीय उत्पादनको बिक्रीजस्ता गतिविधि बढेका छन्। यसले रोजगारी सिर्जना गर्नुका साथै युवालाई गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। धेरै युवायुवती त सामाजिक सञ्जालका लागि सामग्री बनाउनकै उद्देश्यले पनि नयाँ गन्तव्य खोज्दै हिँड्ने गरेका छन्। यसले नयाँ ठाउँको पहिचान र प्रचारमा थप मद्दत पु¥याएको छ ।

तर सामाजिक सञ्जालका सबै प्रभाव सकारात्मक मात्रै छैनन्। भाइरल हुने होडमा कतिपयले पर्यावरणीय संवेदनशीलतालाई बेवास्ता गर्ने, धार्मिक स्थलमा अनुचित व्यवहार देखाउने, फोहोर फाल्ने, जोखिमपूर्ण स्थानमा फोटो खिच्ने जस्ता गतिविधि पनि गरेका छन्। यसले दीर्घकालीन रूपमा पर्यटकीय स्थलको मौलिकता र सौन्दर्यमाथि नकारात्मक असर पार्न सक्छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार र सचेत हुन जरुरी छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको सामग्रीको विश्वसनीयता हो। आकर्षक भिडियोले पर्यटकलाई लोभ्याए पनि वास्तविक अवस्था फरक परेमा निराशा पैदा हुन सक्छ। त्यसैले अतिरञ्जना, भ्रामक जानकारी र केवल भाइरल हुने उद्देश्यले सामग्री उत्पादन गर्नु दीर्घकालीन पर्यटन विकासका लागि घातक हुन सक्छ। स्थानीय तह, पर्यटन व्यवसायी र सामाजिक सञ्जाल प्रयोगकर्ताले मिलेर यथार्थपरक, सकारात्मक र जिम्मेवार सामग्री प्रवाह गर्नुपर्ने आवश्यकता छ । सरकारले पनि सामाजिक सञ्जाललाई पर्यटन प्रवद्र्धनको रणनीतिक औजारका रूपमा लिनु जरुरी छ। स्थानीय तहले आफ्ना पर्यटकीय स्थलको आधिकारिक जानकारी, भिडियो र फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सके प्रभाव अझ बढ्न सक्छ।

साथै, पर्यावरण संरक्षण, सांस्कृतिक मर्यादा र सुरक्षित पर्यटनसम्बन्धी सन्देश पनि सामाजिक सञ्जालकै माध्यमबाट प्रवाह गर्न सकिन्छ। सामाजिक सञ्जाल आजको समयको यथार्थ हो। यसलाई रोक्न वा अस्वीकार गर्नुभन्दा पनि सही दिशामा प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। हाम्रो संस्कार, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेका स्थलहरूको सकारात्मक, जिम्मेवार र सन्तुलित प्रचार–प्रसारका लागि सामाजिक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिनुपर्छ । यदि हामीले सामाजिक सञ्जाललाई अवसरका रूपमा लिन सकेँ भने यसले पर्यटन मात्र होइन, समग्र राष्ट्रिय विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker