रामकोटमा कायमै छ कटुवाल प्रथा : परम्परालाई जोगाउँदै नहलसिं
- भञ्ज्याङ समाचारदाता (दमौली)
गाउँमा केही कार्यक्रम होस् वा तिथि, पर्वमा नियामित गरिने पूजाआजा तथा गाउँबारानाको जानकारी गराउने पुर्ख्यौली पेशा हो नहलसिं थापाको । अहिले प्रविधिको विकास भैसकेको छ । लगभग सबैको हातहातमा मोवाइल फोन पनि छ, पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायतका सुचनाका मध्यमहरु लगभग सबैको पहुँचमा पनि पुगेका छन् ।
तर, ४६ वर्षीय नहलसिं भने आफनो परम्परागत पेशालाई निरन्तरता दिंदै आएका छन् । जिल्लाको बन्दिपुर गाउँपालिका-३ रामकोटका नहलसिं गाउँमा केही शुभकार्य, गाउँबाराना तथा अन्य केही कार्यक्रम भए गाउँको अग्लो भागमा उभिएर घोक हाल्ने गर्छन् ।
उनका बाउबाजेले पनि यहि पेशा गरेका थिए । सुचना प्रविधिको बिकास भएपनि गाउँलेले पनि उनैलाई घोक हाल्न लगाउछन् र उनले भनेपछि सबै गाउँलेले पनि सुचनाको सहि आधार मान्दै आएका छन् ।
रामकोटमा करिव १४५ वढी घरधुरी मगरसमुदायको बस्ति छ । नहलसिंले मगर तथा खस भाषामा गाउँमा हुने शुभकार्य, बाराना तथा विभिन्न कार्यक्रमका विषयमा घोक हालेर सुनाउने गर्छन् । यसरी घोक हालेर जानकारी गराएपछि गाउँलेहरुले पनि सोही अनुसार काम गर्ने रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आले बताउँछिन् ।
उनले भनिन्, ‘हातमा मोवाइल छ, घरमा रेडियो टिभि पनि छ तर गाउँमा केही कार्यक्रम वा बाराना भए कटुवलले घोक हालेपछि मात्र विश्वास लाग्छ अनि हामी सोही अनुसार काम गछौं ।’

‘गाउँमा मगर समुदायको बाहुल्यता भएका कारण मगर भाषामा र खस भाषामा पनि घोक हाल्ने गरेको छु’, नहलसिंले भने, ‘पहिले मेरो बाले कटुवलको काम गर्नुहुन्थ्यो । उहाँको निधनपछि गाउँलेले मलाई नै यो पेशा निरन्तरता दिन आग्रह गर्नुभयो र ६ वर्षदेखि यसरी नै घोक हाल्दै आएको छु ।’ उनका ५ जना सदस्यको परिवार रहेको छ ।
‘गाउँ समाजमा हुने बैठक, पूजाआजा, झैझगडा, गाउँपालिका तथा वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर गाउँलेलाई जानकारी दिने गर्दछु’, उनले भने, ‘यो काम गरेवापत वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैंमा एक माना चामल र मासु दिने गर्दछन् ।’ सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिदै आएको स्थानीय ५० वर्षीय एकबहादुर थापामगरले बताए । उनले भने, ‘बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई निरन्तरता दिंदै आएका हौं । पछि हाम्रा छोरा नातीहरुले पनि बाबुबाजेको पालामा यसरी सुचना दिइदो रहेछ भनेर थाहा पाउछन् कि भनेर यसलाई जीवित राखेका छौं ।’
यस्तै, कटुवलबाट नै सुचना प्रवाह भएपछि मात्र कुनै चाडपर्व आएको जस्तो महशुष हुने ४९ वर्षीया हरिमाया थापामगर बताउँछिन् । उनले भनिन्, ‘अहिले त सबैको हातहातमा मोवाइल छ, सुचना मोवाइलबाट नै पाउन सकिन्छ तर कटुवलले फिराउदै नहिडेसम्म गाउँमा पुजा छ कुनै चाडपर्व आएको छ जस्तो पनि लाग्दैन ।’ गाउँपालिकाले यस गाउँलाई मुख्यमन्त्री नमुना गाउँको रुपमा विकास गर्दै छ । गाउँ घरका आँगन, बाटोघाटोमा ढुङ्गा छाप्ने, सडकबत्ति जडान, खानेपानी, सरसफाई तथा स्थानीय स्तरमा रोजगारीको वातावरण सिर्जना गर्न विभिन्न सीप मुलक तालिमहरु संचालन गर्दै आएका गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा बताउँछन् ।
उनले भने, ‘ऐतिहासिक, धार्मिक, संस्कृतिक, प्राकृतिक लगायतका विविधता बोकेका ग्रामीण बस्तिलाई पर्यटकीय गतिविधि मार्फ जोड्दै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्ने, परम्परागत भाषा, संस्कृति, रितिरिवाजको संंरक्षण हाम्रो प्राथमिकतामा छ ।’










