तनहुँका विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरी प्रत्यक्ष कक्षा सञ्चालन हुन थाले
नारायण खड्का
कोरोना भाइरस (कोभिड-१९) संक्रमण जेखिमका कारण गत चैत्र महिनादेखि बन्द भएका तनहुँका अधिकांश विद्यालयहरु करिब नौ महिनापछि खुल्ला भई प्रत्यक्ष रुपमा पठनपाठन सुरु हुन थालेका छन् । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि तनहुँका १० वटै स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् ।
मन्त्रालयबाट विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ आएपछि र आ-आफ्नो पालिकामा कोरोना संक्रमणको अवस्थालाई मूल्याङ्कन गरी सिकाई सहजिकरण निर्देशिका समेत तयार गरी पठनपाठनलाई सुचारु गराउन थालिएको तनहुँका स्थानीय पालिकाहरुले बताएका छन् ।
भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन सिंह थापाले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित रुपमा सञ्चालन भइरहेको र आ-आफ्नो क्षेत्रमा भाइरस संक्रमणको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका सामाग्रि र मापदण्ड पूर्णरुपमा पालना गर्दै विद्यालयको पठन पठनमा सहजिकरण गर्न अनुमति दिइएको बताए ।
यस्तै, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोभिड-१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको माापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको बताए । विद्यार्थी संख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने र स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा सबै विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा अभिभावकलाई पनि सचेत गराउँदै आएका अध्यक्ष थापाले बताए।
मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यविधिलाई आधार बनाई गाउँपालिकाको शिक्षा समितिले समेत आवश्यक मापदण्ड र निर्देशिका तयार गरी विद्यालय सञ्चालन गर्न थालिएको आँवुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए।
देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका, भानु नगरपालिका, व्यास नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिकाले पनि मन्त्रालयको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ आएपछि सोही अनुसार स्थानीय स्तरमा प्रत्यक्ष कक्षा सञ्चालनका मापदण्ड, निर्देशिकाहरु तयार गरी पठनपाठन सुचारु गर्न थालेका छन्। यता व्यास नगरपालिकाको वडा समितिले विद्यालयले स्वास्थ्य सुरक्षाका सामाग्रि तथा मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।
यस्तै, शुक्लागण्डकी नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्यालयहरु पूर्णरुपमा प्रत्यक्ष कक्षा सञ्चालन गरेपनि बजार क्षेत्रका विद्यालयले भने अनलाइन कक्षालाई जोड दिइरहेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।
शुक्लागण्डकीक-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालय र व्यास-२ दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले अनलाइन, टोलटोलमा पुगि कक्षा सञ्चालन गर्दै आएकोमा अब प्रत्यक्ष पठनपाठन सञ्चालन गर्ने तयारी गरेका छन् । यी दुबै विद्यालयले विद्यार्थीहरुलाई बाटोमा आवतजावत गर्दा समेत भौतिक दुरी कायम गर्न, काक्षाकोठामा तोकिएको स्थानमा भौतिक दुरी कायम गरी बस्न, मास्क अनिवार्य लगाउन, सम्भव भए सेनिटाइजर समेत लिएर आउन, खाजाको व्यवस्था घरबाटै लिएर आउन, शुद्ध पिउने पानीको व्यवस्था घरैबाट बोटलमा भरेर ल्याउनु पर्ने जस्ता नियम बनाएका छन् ।
यस्तै, विरामी भएको वा ज्वरो आएको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित नहुन, शरीरको तापक्रम नापेर मात्र कक्षामा प्रवेश गराउने व्यवस्था गरिएको पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले जानकारी गराए ।
दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले अभिभावकहरुसंग छलफल तथा अन्तरक्रिया गरी दैनिक तीन सिफटमा प्रत्यक्षा कक्षा सञ्चालन गर्ने तयारी गरी आइतबारबाट पठनपाठन सुरु गरेको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए ।
तनहुँका ग्रामीण क्षेत्रका विद्यालयहरुले केही समय टोलटोलमा पुगि विद्यार्थीको सिकाई सहिजकरण गरेपछि पछिल्ले समय प्रत्यक्ष कक्षा सञ्चालन गर्दै आएका छन् । यता बजार क्षेत्रका विद्यार्थी संख्या धेरै भएका र प्रविधिको सहज पहुँच भएका विद्यालयहरुले अनलाइन कक्षाका साथै टोलटोलमा शिक्षकहरुलाई परिचालित गरी विद्यार्थीको सिकाईलाई निरन्तरता दिने प्रयास गरेका थिए ।










