म्याग्दे गाउँपालिकाको मनपाङमा होमस्टे संचालन
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-६ मनपाङमा मनपाङ सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । गुरूङ समुदायको बाक्लो वसोवास रहेको मनपाङका २२ घरले होमस्टे सञ्चालन गरेका हुन् ।
सामुदायिक होमस्टेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष वालकृष्ण घिमिरेले संयुक्त रूपमा शुभारम्भ गरेका छन् । पर्यटकीय, धार्मिक र साँस्कृतिक दृष्टिकोणले अगाडि रहेको मनपाङमा पाहुनाले सहज रूपमा पारिवारिक वातावरण र मनोरञ्जन लिन सक्ने बताइउको छ ।

समुदायलाई होमस्टे सञ्चालनका लागि ज्ञान, सीप, कानुन, पूर्वाधार तथा आत्मविश्वास बढाउनका लागि तालिम दिईएको गाउँपालिकाका अधिकृत प्रदिप न्यौपानेले बताए । उनले भने, ‘पाहुनालाई खानाको परिकार बनाउन कुकिङ, सरसफाई, व्यवस्थापन तथा अतिथि सत्कार लगायतका तालिमहरु प्रदान गरिएको छ ।’
ग्रामीण पर्यटनको माध्यमबाट स्थानीयले आर्थिक समृद्धि हाँसिल गर्न सक्ने सम्भावना रहेको हुँदा गाउँपालिकाको सक्रियतामा होमस्टे व्यवस्थापनको तालिम सञ्चालन गरी सञ्चालनमा ल्यइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितवहादुर रानाले बताए ।

वडा अध्यक्ष हिरालाल गुरूङको अध्यक्षतामा आयोजित शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरूङ, प्रमुख प्रशासकीय अधिकृत जितवहादुर राना लगायतकाले नमुना होमस्टे निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।










