भक्तपुरबाट सिक्दै बन्दीपुरलाई सांस्कृतिक संरक्षित सहरको रुपमा विकास गरिने

भञ्ज्याङ न्यूज

तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा नेतृत्वको टोलीले मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरेको छ । नगर प्रमुख प्रजापतिले बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाको नेतृत्वमा आएको उक्त टोलीलाई स्वागत गर्दै भक्तपुर नगरपालिकाको संक्षिप्त परिचयबारे जानकारी गराएका छन् ।

प्रमुख प्रजापतिले उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका आधारभूत आवश्यकताका विषयहरु निःशुल्क, रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवादी व्यवस्था भएको उल्लेख गर्नुहुँदै भक्तपुर नगरपालिकाले आफ्ना नीति, योजना र कार्यक्रमहरु समाजवादी व्यवस्थाअनुरुप बनाउने प्रयत्न गर्दै आइरहेको बताए ।

उनले शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूमा हाल ७२ जिल्लाका ७ हजारभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको, नपाले रु ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्नुका साथै भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषामा उच्च शिक्षा हासिल गर्ने पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गर्दै आइरहेको बताए।

जर्मन सरकार र नेपाल सरकारबीच भक्तपुरको १० वटा सम्पदा पुनः निर्माणको लागि रु. १ अर्ब २० करोड (१ करोड युरो) अनुदान सम्झौता भएकोमा सम्झौतामा उल्लेखित शर्तहरु जनताको स्वाभिमानमा आँच पुग्ने देखेर त्यो रकम भक्तपुर नगरपालिकाले अस्वीकार गरेको उनले बताए ।

विदेशीको सहयोग विना भक्तपुरका जनताको साथ र सहयोगबाट २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका १२४ वटा सम्पदाहरु पुनःनिर्माण र जिर्णोद्वार सम्पन्न गरिसकेको र दर्जनौं सम्पदाहरु पुनः निर्माणको क्रममा रहेको अवगत गराए ।

सोही क्रममा बन्दीपुरका अध्यक्ष थापाले बन्दीपुर गाउँपालिका गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्व बोकेको, १०२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका भएको बताउँदै भक्तपुर र बन्दीपुर एक अर्काका परिपूरक सहर भएको उल्लेख गरे ।

भक्तपुर र बन्दीपुरका कला, संस्कृति एक अर्कामा मिल्दाजुल्दा रहेको बताउँदै अध्यक्ष थापाले भक्तपुरबाट सिक्दै बन्दीपुर गापालाई सांस्कृतिक संरक्षित सहरको रुपमा विकास गर्ने उद्देश्य रहेको र बन्दीपुरका मुख्य मुख्य सडकहरुमा सवारीसाधन निषेध गर्दै ढुंगा छपाईको कार्यलाई जोड दिँदै आएको बताए।

भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा फोहरमैला व्यवस्थापनका क्षेत्रहरुमा गरिरहेको काम देशकै लागि उदाहरणीय भएको बताउँदै उनले भक्तपुरको विकासबाट आफूहरुलाई निकै ऊर्जा र प्रेरणा मिलेको र बन्दीपुरलाई पनि भक्तपुरजस्तै सुन्दर सहरको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।

बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

यस्तै, तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरको समग्र विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको हो ।

आन्तरिक तथा बाहृय पर्यटकको रोजाइमा परेको बन्दीपुरलाई पर्यटनको केन्द्रविन्दु बनाउन सरकारको तर्फाट सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष थापाले प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेका छन् ।

भेटमा सहभागी नेपाली कांग्रेसका नेता स्थानीय रेशम गुरुङका अनुसार प्रधानमन्त्री देउवाले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रुपमा थप विकास गर्न सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । भेटवार्तामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ, क्षेत्रीय होटल संघ बन्दीपुरका पूर्वअध्यक्ष वैश गुरुङ लगायतको सहभागिता थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker