तनहुँका विभिन्न संघसंस्थाहरुद्वारा बाढीप्रभावित नागरिकलाई आर्थिक सहयोग

तनहुँ : तनहुँ उद्योग वाणिज्य संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न राष्ट्रिय विपत्तिका पीडितहरूलाई सहयोग पु¥याउने उद्देश्यले संघले १ लाख ५६ हजार १५६ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । उक्त रकम नेपाल उद्योग वाणिज्य महासंघमार्फत सम्बन्धित प्रभावित क्षेत्रमा रहेका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनका लागि उपलब्ध गराइने तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्लले विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउँदै संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
भिमाद नपाद्वारा २० लाख
तनहुँको भिमाद नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको कोषबाट रु पाँच लाख, जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबाट रुआठ लाख ८० हजार, शिक्षक र कर्मचारीको तलबबाट रु छ लाख तथा भ्रमण कार्यक्रमको बजेट बाट रु २० हजार सहयोग गर्ने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
रसुवामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख सुवेदीले विपद्को घडीमा भिमाद नगरपालिका पीडितको साथमा रहेको बताए ।
भानु महिला विकास सहकारीद्वारा दुई लाख
यस्तै, तनहुँको भानु–२ फुस्रेटारस्थित भानु महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बाढीपीडितका लागि रु दुई लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहकारीले रु दुई लाख ५५५ सहयोग गरेको हो । संस्थाका शेयर सदस्यहरूबाट स्वतःस्फूर्त रूपमा संकलित रकम बुधबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका अध्यक्ष खिममाया गुरुङले जानकारी दिइन् ।
यस्तै, तनहुँका सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय, विद्यार्थी, व्यवसायी तथा व्यक्तिहरुले समेत बाढीप्रभावित क्षेत्रका लागि आर्थिक, खाद्यन्न, लत्तकपडा तथा अन्य अन्या सामाग्रिहरु सहयोग गरेका छन् ।










