मन्त्रिपरिषद् विस्तार: चार मन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो ।
नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उहाँहरूलाई आइतबार नियुक्त गर्नुभएको हो । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउनुभएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुनुहुन्छ । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुनुहुन्छ ।
वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ,  कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ ।
‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker