च्याउखेतीबाटै सन्तुष्टि !

  • कृष्ण न्यौपाने (दमौली)

तनहुँको व्यास नगरपालिका-४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभयो । तीन वर्षको बसाइपछि उहाँ घर फर्किनुभयो । घर फर्किएपछि के गर्ने ? उहाँमा कुनै विकल्प थिएन । त्यसलगत्तै उहाँ वैदेशिक रोजगारीका लागि कतार पुग्नुभयो । कतारमा जम्मा १५ महीना बसेर पुनः स्वदेश फिर्ता हुनुभयो । विदेशमा चार वर्ष पाँच महीना बस्दा उहाँले केही पैसा त कमाउनुभयो, तर आत्मसन्तुष्टि लिन सक्नुभएन । घरमै बस्दै गर्दा उहाँलाई प्लम्बिङ काम गर्ने सोच आयो । हातमा सीप भएकाले उहाँले प्लम्बिङको काम शुरु गर्नुभयो । सँगै तरकारीखेती पनि ।

प्लम्बिङ र तरकारीखेतीबाट भएको आम्दानीले उहाँको घरखर्च चल्दै गयो । बिस्तारै उहाँले च्याउखेतीमा भविष्य देख्नुभयो र च्याउखेती शुरु गर्नुभयो । सात वर्ष अगाडिदेखि च्याउखेती गर्नुभएका श्रेष्ठले यसैलाई निरन्तरता दिइरहनुभएको छ । व्यावसायिकरूपमा च्याउखेती गरिरहनुभएका श्रेष्ठ अहिले सन्तुष्ट हुनुहुन्छ । “विदेश गएर आत्मसन्तुष्टि मिलेन, बरु अहिले घरमै बसेर गरेको च्याउखेतीले सन्तुष्टि दिलाएको छ”, श्रेष्ठले भन्नुभयो, “मनग्य आम्दानी छ, घर्रखर्च राम्रोसँग चलेको छ ।”

उहाँले १० आना आफ्नै र १० आना भाडामा लिएर च्याउखेती गरिरहनुभएको छ । च्याउखेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताउनुभयो । उहाँले च्याउखेतीका लागि आठ वटा टनेल बनाउनुभएको छ । हालसम्म रु १६ लाखभन्दा बढी लगानी भएको उहाँले बताउनुभयो । च्याउखेती विस्तार गर्ने सोच बनाए पनि जग्गा नपाएको श्रेष्ठले बताउनुभयो । “अझै थप व्यावसायिकरूपमा खेती गर्ने सोच हुँदाहुँदै पनि जग्गा पाएको छैन, जग्गा खोज्दैछु”, श्रेष्ठले भन्नुभयो । श्रेष्ठले हालै मात्र चार वटा टनेल बनाएर उक्त टनेलमा ४०० किलो च्याउको बीउ रोप्नुभएको छ । चौबीस दिनमा टुसा पलाउन शुरु हुने र ३० देखि ३५ दिनमा च्याउ बिक्रीका लागि तयार हुने गर्दछ । “एक चरणमा चार हजार किलो च्याउ बिक्री भइसक्यो, अहिले थप ४०० किलो च्याउको बीउ लगाएको छु”, उहाँले भन्नुभयो । एउटा पोकामा राखिएको च्याउको बीउबाट छ पटकसम्म उत्पादन लिन सकिन्छ ।

बजार अभाव छैन

उत्पादित च्याउ बिक्रीका लागि कुनै समस्या नरहेको श्रेष्ठले बताउनुभयो । उत्पादित च्याउ दमौली बजारमै छोपाछोप हुने गरेको उहाँले सुनाउनुभयो । उहाँले दमौली बजारमै तरकारी पसलसमेत सञ्चालन गर्दै आउनुभएको छ । “कतिपय त च्याउ लिन घरमै आइपुग्छन्, पसलमा लगेर पनि बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “बजारको कुनै समस्या छैन, च्याउखेतीबाट सन्तुष्ट छु, चार जनाको परिवार राम्रोसँग चलेको छ ।” श्रेष्ठका अनुसार थोकमा प्रति किलो रु १६० र खुद्रा रु २०० सम्म च्याउ बिक्री हुने गरेको छ ।

च्याउ उत्पादन भएको बेला प्याकिङ गर्नका लागि श्रेष्ठले १०/१५ जनालाई रोजगारी दिनुभएको छ। “अरु बेला घरपरिवारले नै काम गर्र्छौं, उत्पादन भएका बेला घर वरपरकै मानिसलाई काममा लगाउने गरेको छु”, श्रेष्ठले भन्नुभयो । व्यास नगरपालिकाले श्रेष्ठलाई रु आठ लाख अनुदान दिएको छ । व्यावसायिकरूपमा खेती गरिरहेका कृषक छनोट गरी अनुदान दिइएको नगरपालिकाका प्रवक्ता एवं आर्थिक समितिका संयोजक मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “उहाँले गरेको कामको मूल्याङ्कन र अनुगमनपछि मात्रै रकम भुक्तानी गर्र्छौं”, उहाँले भन्नुभयो, “उहाँको च्याउखेतीको नगरपालिकाको तर्फाट अनुगमन भएको छ, कृषकलाई प्रोत्साहित गर्ने नगरपालिकाको नीति छ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker