बन्दीपुरका टोल-टोलमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा

भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकाले टोल-टोलमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले सोमबार वडा नं. ६ को ग्याजाटार, बाग्थलमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गरेको छ ।
गाउँपालिकाले उक्त वडाका टोलटोलमा आँखा जाँच शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ९३ जनाको स्वास्थ्य तथा आँखा परीक्षण गरिएको थियो । शिविरमा आएका ज्येष्ठ नागरिकले स्वास्थ्यकर्मीहरू टोल टोलमा आएर आफ्नो जाँच गरिंदिदा स्वास्थ्य संस्थामा ठूलो रकम खर्च गरी धाउनुपर्ने बाध्यता हटेको बताएका थिए ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ जटिलतालाई मध्यनजर गरेर टोलमा नै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । वडामा रहेका स्वास्थ्य संस्थाहरूमा पुग्न ज्येष्ठ नागरिकले धेरै दुःख गर्नुपर्ने भएकाले बन्दीपुर अस्पतालमा कार्यरत डाक्टरहरु सहित गाउँपालिका अर्न्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूलाई पालो र तालिका अनुसार स्वास्थ्य संस्थाहरुको पहुँचबाट टाढा रहेका टोलहरुमा पठाउने गरिएको अध्यक्ष थापाले बताए ।
उनले भने, ‘निश्चित टोलका ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला पारेर सबैलाई एकै ठाउँबाट सेवा दिँदा उनीहरूले लामो दूरी हिँड्नु नपर्ने गरी टोल टोलमा नै स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको छ ।’
‘एउटै पालिका भए पनि एउटा गाउँका वृद्ध बुबाआमालाई अर्को गाउँमा रहेको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य परीक्षण गरेर आउँदा दिन नै जान्छ । स्वस्थ भए त हिँड्न सक्नुहोला । बुढेसकालमा घुँडा दुख्ने, दम हुने, आँखा नदेख्ने, ढाडका समस्या धेरैमा हुन्छन’, अध्यक्ष थापाले भने ‘यस्ता समस्या भएका नागरिकहरू स्वास्थ्य संस्थासम्म हिँडेर जान सक्ने अवस्था रहँदैन । गाउँमा वडाबाट वडा जोड्ने गरी सवारीहरू चल्दैनन् । सबैका घरमा सवारी पनि छैनन् । ग्रामीण क्षेत्रमा एउटा गाउँबाट अर्को गाउँमा जाने सवारी छैनन् ।’
शिविरमा ज्येष्ठ नागरिक सहित सबैको निःशुल्क र अनिवार्य रूपमा स्वास्थ्य जाँच गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए । सर्ने भन्दा पनि गाउँगाउँमा नर्सर्ने रोगले भित्रभित्रै कमजोर पारिरहेकोबारे व्यक्ति बेखबर रहँदा जटिल स्वास्थ्य समस्याहरू अचानक देखा पर्ने हुँदा यसरी अभियानकै रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए ।
यो अभियानका लागि स्वास्थ्यकर्मीहरूलाई कामको चाप बढी हुने भए नि उनीहरू पनि तयार रहेको प्रमुख प्रशासकीय अधिकृत हमालले बताए । महिनामा २ पटक गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाको पहुँच नपुगेको टोलमा पुगेर शिविर चलाएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण, परामर्श सेवा, सामान्य उपचार सेवा र प्रेषण सेवा प्रदान हुन्छ । शिविरबाट टोल टोलमा आधारभूत स्वास्थ्य सेवा पनि प्रदान गरिएको छ ।’
भट्टराइका अनुसार नर्सर्ने रोगसम्बन्धी प्रारम्भिक पहिचानमा केन्द्रित हुने शिविरहरू गाउँपालिकाका ६ वटा वडामा रहेका ५० भन्दा बढी टोलमा केन्द्रित हुनेछन् । एउटा टोलमा कम्तिमा पनि ३ महिनामा एक पटक डाक्टर सहित स्वास्थ्यकर्मीहरूको टोली पुर्‍याउने गरी गाउँपालिकाले योजना बनाएको उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker