वास्तविक घटना बङ्ग्याएर भ्रम सृजना नगर्न दमौली अस्पतालको आग्रह (विज्ञप्ति सहित)
भञ्ज्याङ न्यूज

गत आइतबार तनहुँको भानु नगरपालिका-१ का वृद्धको मृत्यु सम्बन्धी घटनाका विषयमा दमौली अस्पतालले प्रेस विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य नबुझि वास्तविकता बङ्ग्याउने काम भएको बताएका छन् ।
अध्यक्ष प्रदीपराज अधिकारीले अहिलेको यो विषम् घडीमा भ्रमको खेती गर्नुभन्दा कोभिड-१९ संक्रमणबाट बच्न सचेतना फैलाउने स्वास्थ्यकर्मी र डाक्टरहरुलाई काम गर्न सहज वातावरण बनाउन आग्रह गरेका छन् । जारी विज्ञप्तिमा कोभिडका विरामी अस्पताल ल्याउँदा पहिल्यै जानकारी गराउने आम नागरिकको दायित्व भएको र सबै जिम्मेवार, सचेत तथा सजग बन्न आवश्यक रहेको भनिएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरु र अन्य कर्मचारीलाई कत्तिपनि विचलित नभई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्दै अध्यक्ष अधिकारीले कोभिडको महामारीका कारण स्वास्थ्य सामाग्रि, औषधी र अक्सिजनको अभाव विश्वव्यापी रुपमा रहेको उल्लेख गरेका छन् ।
यस्तो असहज अवस्थामा पनि दमौली अस्पतालसंग अहिले तत्काललाई आवश्यक पर्ने सामाग्रि मौज्दात रहेको बताएका छन् । यी सामाग्रि कम हुन नदिनका लागि अस्पताल लागिपरेको र कोभिडका विरामीलाई भर्ना गरी उपचार प्रक्रिया शुरु भइसकेको जानकारी गराउँदै अस्पतालले अब आवश्यक पर्ने सामाग्रिहरुको अभाव हुन नदिन सम्पूर्ण सरोकारवाला निकायहरुसंग अपिल गरिएको छ ।
अस्पतालद्वारा जारी विज्ञप्तिको पूर्णपाठ
दमौली अस्पतालले बिरामीको उपचार गर्न नमानेकाले बिरामीको एम्बुलेन्समा नै मृत्यु भन्ने समाचारले हाम्रो ध्यान गम्भिर रुपले ध्यानाकर्षित भएको छ । यस घटनाको सत्य तथ्य आमनागरिकलाई गराउनुपर्ने अवस्था समाचारपछि महसुस गरी प्रेस विज्ञप्ति जारी गरिएको छ ।
भानु नगरपालिका वडा नं. १ निवासी शम्भुलाल श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएकोले पोखरा महानगरपालिका अवस्थित ओम अस्पतालमा गई चेक जाँच गरेको र अस्पतालले केस सिरियस भएकोले भर्ना भई उपचार गराउनुपर्दछ भन्दाभन्दै पनि बिरामी अस्पताल भर्ना नभई घरमा फर्की आएको कुरा ओम अस्पतालको बिरामी कार्डमा उल्लेख छ । वैशाख २४ गते बिरामीलाई पुनः समस्या देखिएपछि २५ गते बिहान ४ बजे दमौली अस्पतालको इमरजेन्सी कक्षमा आई उपचार गरेको र उपचारपछि १० बजेतिर घर फर्केको कुरा इमरजेन्सी रेकड बुकमा रेकर्डेट छ ।
बिरामी इमरजेन्सीमा आउदा मौखिक रुपमा कोभिड-१९ पोजेटिभ भएको भन्ने जानकारी गराएका थिए । कोभिडको बिरामी भएपनि इमरजेन्सी बेडमा राखि उपचार गरिएको र सामान्य उपचार पछि घरमा नै आइसोलेन बस्ने गरी पठाइएको थियो । वैशाख २६ गते दिनको १ बजे बिरामी बिना अक्सिजन एम्बुलेन्स मार्फत पुनः दमौली अस्पताल ल्याइएको थियो । इमरजेन्सीमा ड्युटीरत डाक्टर पोसटमार्टमका लागि लास घरमा थिए । हतार हतार आई पिपिई लगाई डाक्टर एम्बुलेन्समा पुग्दा १ः२५ बजेको थियो ।
बिरामीलाई एम्बुलेन्स मै चेक जाँचभयो । बिरामीको अवस्था नाजुक देखिएको अक्सिजनको मात्रा ३५ प्रतिशत मात्र रहेकोले डा. आफैले अक्सिजन लगाई छिटो भन्दा छिटो पोखरा लग्नेगरी १:३० बजे रिफर गरिएको थियो । बाटोमा जाँदै गर्दा बिरामीको मृत्यु भएको र एम्बुलेन्स फर्काइ पुनः दमौली अस्पतालमा ल्याइएको थियो । डाक्टरबाट १:५० मा मृत घोषणा गरेका थिए । वास्तविक घटना यस्तो हुँदाहुँदै पनि घटनालाई वङ्ग्याउने काम भयो । आम रुपमा भ्रम सिर्जना गर्न खोजियो ।
यो बेला भ्रमको खेती गर्नु भन्दा कोभिडबाट बच्ने सचेतना फैलाउने स्वास्थ्यकर्मी र डाक्टरहरुलाई काम गर्न सहज वातावरण बनाउने, कोभिडको बिरामी अस्पताल ल्याउदा पहिलै जानकारी गराउने, आमनागरिकको दायित्व हो । हामी सबै जिम्मेवार, सचेत र सजग बन्न जरुरत छ । साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरु र अन्यकर्मचारीहरुलाई कत्तिपनि विचलित नभई उच्च मनोबल सहित जिम्मेवारी पुरा गर्न हार्दिक अनुरोध गर्दछौ ।
कोभिड-१९ को महामारीको कारण स्वास्थ्य सामग्री, औषधी र अक्सिजनको अभाव विश्वव्यापी रुपमा रहेको छ । यस्तो असहज अवस्थामा पनि हामीसंग अहिले तत्काललाई आवश्यक पर्ने सामग्री मौजात छ । यी सामग्री कमहुन नदिनका लागि अस्पताल लागिपरेको छ । कोभिडका बिरामीहरुलाई भर्ना गरी उपचार प्रक्रिया सुरु गरी सकिएको छ । अब आवश्यक पर्ने सामग्रीहरुको अभाव हुन नदिन सम्पूर्ण सरोकार निकायहरुमा हार्दिक अपिल गर्दछौ ।
प्रदिप राज अधिकारी
अध्यक्ष : दमौली अस्पताल (होम आइसोलेसनबाट)