युवा विदेशिदा मुलुकले समृद्धि हाँसिल गर्दैन : नगरप्रमुख न्यौपाने

- भञ्ज्याङ समाचारदाता (दमौली)
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले युवा विदेशिदा मुलुकले समृद्धि हाँसिल गर्न नसक्ने बताएका छन् । युवा सजगता अभियान तनहुँले सोमबार दमौलीमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानले ‘देश बनाउने युवाहरु विदेशमा जाने र त्यहाँको चिल्ला सडक र रमाइलोमा भुल्ने सपना टुटाउनु पर्दछ ।’
अभियानको स्थानीय तहका संयोजकहरुको अभिमुखीकरण कार्यक्रममाका बक्ताहरुले सीपयुक्त युवाहरु विकसित देशमा नै बस्न चाहने र सीप नभएकाहरु पनि खाडी मुलुकमा काम गर्ने जाने परिपार्टीले स्वदेशमा उद्यम गर्ने सोचाइ कम हुने गरेको चर्चा गरेका थिए ।
नेपाली काँग्रेस तनहुँका सभापति एवं नगरप्रमुख न्यौपानेले कृषि र स्वास्थ्य क्षेत्रमा पालिकाहरुले बजेट पर्याप्त मात्रामा छुट्टाउने गरेको र स्थानीय तहसँग सहकार्य गरेर कृषिसँग जोडेर उत्पादनमूखी कर्ममा युवाहरुलाई जोडेर स्वदेशमा नै भुल्ने गरी कार्यक्रम बनाउनुपर्ने अहिलेको आवश्यकाता रहेको बताए ।
‘कृषिसँग सम्बन्धित हावा पानी मिल्दो के काम गर्न सकिन्छ, कस्तो सीप चाहिन्छ त्यस कुरामा स्थानीय तहसंग सहकार्य गरी युवाहरुलाई स्वदेशमा नै उद्यमशील बनाउन युवा सहजकता अभियानले पाइला चाल्नु पर्छ’ नगरप्रमुख न्यौपानेले भने, ‘थुप्रै जमिन बाँझो रहेकोले आधुनिक प्रविधिको प्रयोग गरी त्यसलाई युवाहरुलाई जोड्ने हो भने छोटो समयमा नै नेपाललाई खाद्यान्न तथा माछा र मासुमा आत्मनिर्भर बनाउन सक्ने अवस्था छ ।’
युवा सजगता अभियानका संयोजक चिन्तन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका कार्य बाहक सभापति जीतप्रकाश आले, प्रा.डा. कृष्णप्रसाद गौतम, गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, लायन्स क्लब अफ नेपाल ३२५ बी एकका पूर्व गभर्नर अशोककुमार श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेताहरु उदयराज गौली, रामचन्द्र अधिकारी, अभियानका जिल्ला अध्यक्ष देव रसाइली लगायतले युवाहरुलाई गाउँमै रोजगारी दिएर र आम्दानी गर्न प्रोत्साहन गरेर विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमा नै श्रम गर्नुपर्छ भन्ने भावानाको विकास गर्न सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।










