ऐतिहासिक स्थल तनहुँसुरमा होमस्टे सञ्चालन, १४ घरमा ४० जना बास बस्न मिल्ने

भञ्ज्याङ न्यूज

ऐतिहासिक स्थल तनहुँसुरमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ । तनहुँको व्यास नगरपालिका-११ को ऐतिहासिकस्थल तनहुँसुरमा देवस्थल सामुदायिक होमस्टेको शुक्रबार औपचारिक उदघाटन गरी सञ्चालनमा ल्याइएको हो ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाहृय पर्यटकका लागि सहज रुपमा खाना तथा आवासको व्यवस्थापन गर्न होमस्टे सञ्चालन गरिएको होमस्टेका अध्यक्ष पदमबहादुर थापाले बताए ।

अध्यक्ष थापाले भने, ‘स्थानीय पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छौ । अब तनहुँसुरमा आउने पर्यटकलाई खाना बस्नालाई सहज हुन्छ ।’

‘पछिल्लो समय तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि घरवास सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरवास सञ्चालन गरिएको छ । उक्त घरवासमा ४० बास बस्न सक्नेछन् ।’

मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरवासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्टलगायतका स्थानीय स्तरमै उत्पादित खानाका परिकार खुवाइने घरवास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले बताए ।

होमस्टेको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शुभारम्भ गर्दै ग्रामीण पर्यटनबाट समृद्धि सम्भव भएको बताएका छन् । संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्ने बताउँदै मन्त्री चुमानले अलग अलग नभई एकिकृत भएर कार्यक्रम गर्न सकिएमा ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

यस्तै, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि घरवासको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै ऐतिहासिक एवं शहीद गाउँ तनहुँसुरको प्रवर्द्धनका लागि नगरपालिका जुटिरहेको बताए ।

उनले सेन राजाले राज्य सञ्चालन गरेको ठाउँ भएकाले यस ठाउँको प्रचुर सम्भावना छ, त्यसैलाई मध्यनजर गर्दै घरवास सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गरेको बताए ।

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । यहाँ रहेको ऐतिहासिक खड्गदेवी मन्दिरको केही दिन अगाडिबाट पुनःनिर्माण शुरु भएको छ । पुरातत्व विभागको ७० लाख रुपैयाँको लागतमा खड्गदेवी मन्दिरको पुनःनिर्माण शुरुआत गरिएको छ ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रम्स भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले २३० वर्षतनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

तनहुँसुर दरबार क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, लाङटाङ हिमश्रृंखलाका २० भन्दाबढी हिमालहरु, कुहिरोको रास, सुर्योदय र सुर्यास्तका मनोरम दृश्यावलोकन गर्न सकिन्छ भने कृषि फलफूल र पशुपंक्षी फार्म लगायत होमस्टे वरपरका सम्पदाले आकषिर्त गराउने छ ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौं लगायतका ठाउँमा बर्साई सरेर गएका छन् । तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको छ किलोमिटर खण्ड कालोपत्रेको तयारी थालिएको छ । संघीय सरकारको पाँच करोड रुपैयाँ र व्यास नगरपालिकाको पाँच करोड रुपैयाँ गरी दश करोड रुपैयाँको लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

जीर्ण बनेको तनहुँसुर दरबारको पुनःनिर्माणका काम गरिदै । तस्विर : भञ्ज्याङ

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीर्रमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।

पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवाबाट करिब १२.५ किलोमिटरको मोटरमार्गबाट र पैदलयात्रा रुचाउनेका लागि मुलपानीबाट इको ट्रेक सञ्चालन गरिएको छ । पैदल यात्रामा प्रकृतिसँग रमाउदै करिब २ घण्टामा ६.५ किलोमिटरको दुरी सजिलै पार गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker