मुग्लिन-पोखरा सडक विस्तार : काम सक्न ११ महिना बाँकी रहदा पश्चिम खण्डको जम्मा १० प्रतिशत प्रगति
सन् २०२५ डिसेम्बरसम्म काम सक्ने कार्यायोजना सहितको निर्माण पक्षको प्रतिवद्धता
भञ्ज्याङ समाचारदाता/तनहुँ
गण्डकी प्रदेशको लाइफलाइन पृथ्वीराजमार्गको विस्तार तथा स्तरोन्नती कार्य भइरहेको छ । राजमार्गको मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत आँवुखैरेनी-जामुने (पूर्वीखण्ड) र जामुने-पोखरा (पश्चिमखण्ड) गरी दुइ खण्डमा विभाजन गरी दुइ चिनियाँ कम्पनीले सडक विस्तार गर्ने कामको जिम्मा लिइएका छन् ।
सडक विस्तारको जिम्मा लिइएका निर्माण पक्षले करिब ७० प्रतिशत समय बितिसकेपनि सो अनुसारको कामको प्रगति देखाउन सेकका छैनन् । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त गतिमा भएको छ । जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतीको काम चीनको अनहुइ कैयुएन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ ।
२०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गरिसक्नुपर्छ । तर, निर्माण पक्षले ठेक्का सम्झौता गरेको ७० प्रतिशत समय सकिदा जम्मा १० प्रतिशत मात्र भौतिक प्रगति देखाउन सकेको छ । पूर्वी खण्डमा केही हदसम्म सन्तोषजनक काम भए पनि पश्चिम खण्डको प्रगति चिन्ताजनक अवस्थामा पुगेको छ । ७० प्रतिशत समय सकिँदा १० प्रतिशतको हाराहारिमा मात्र काम भएको जामुने-पोखरा -पश्चिम खण्ड)का आयोजना प्रमुख राजेश प्रसाद पौडेलले बताए ।
‘यो खण्डको कामले जुन रुपमा गति लिनुपथ्र्यो त्यो भने भएको छैन । निर्माण पक्षले सम्झौता अनुसार कामको प्रगति नदेखाउँदा ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा जाने कि भन्ने विषय पनि अगाडि बढेको छ’, प्रमुख पौडेलले भने, ‘निर्माण पक्ष र अन्य सरोकारवालाहरुको छलफलमा निर्माण पक्षले आफ्नो कार्ययोजना सहित सन् २०२५ डिसेम्बरसम्ममा सम्पूर्ण काम सक्ने र ३/४ महिना भित्रै कामको प्रगति देखाउने गरी कार्यायोजना सहित प्रतिवद्धता पेश गरेको हुँदा अब कामको गति बढ्छ कि भन्ने देखिएको छ ।’
उनले भने, ‘तत्काल ठेक्का रद्द गर्दा अर्को समस्या आउने हुँदा हामीले आगामि जेठ मसान्तसम्म जामुनेदेखि कोत्रेसम्मको सडक खण्डको काम सक्न भनेका छौं । त्यसका लागि हाम्रो तर्फबाट गर्नुपर्ने अन्य कामलाई व्यवस्थापन गर्ने तयारीमा हामी केन्द्रित भएका छौ ।’
यस्तै, अहिले चाडपर्वको समय भएकाले राजमार्गको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउने गरी सडकको मर्मत सुधार गर्न पनि भनिएको छ र निर्माणले त्यो कामलाई अहिले प्राथमिकता दिइएको आयोजना प्रमुख पौडेलले बताए । यो खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यस्तै, मुग्लिनदेखि पोखरासम्मको ८० किलोमिटर सडक सहरी भेगमा ६ लेन र ग्रामीण भेगमा ४ लेनमा विस्तार गर्ने गरी दुइ खण्डमा स्तरोन्नति भइरहेको छ । तनहुँको आँवुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा चिनियाँ ठेकेदार कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।
२०७७ माघ १७ मा सम्झौता भएर २०७८ वैशाख २ देखि काम सुरु भएको यो ४१.४५ किलोमिटर खण्डको म्याद २०८१ वैशाखसम्म छ । साउनसम्म उक्त खण्डको भौतिक प्रगति ३१ प्रतिशत मात्र छ । यो खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
यस्तै, पृथ्वीराजमार्ग बस सञ्चालक समितिले अघिल्लो वर्षभन्दा ६० प्रतिशत यात्रुको संख्या घटेको बताए । राजमार्गको यात्रा असुरक्षित बन्दै जानुका साथै समयमै गन्तव्यमा पुग्न यात्रुले निकै सास्ती झेल्नुपरेको छ । सडक समयमै स्तरोन्नती नहुँदा यातायात व्यवसायी, पर्यटन व्यवसायी, यात्रुलाई एकदमै मार परेको छ । सडकको अवस्था पनि निकै दयनीय बन्दै गएको छ ।
दमौलीको मादी नदीमा पुल निर्माण हुने
यस्तै, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो ।
मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको छ । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो ।
उक्त पुल निर्माणको तयारी सुरु भइसकेको र दसैं सकिनेबित्तिकै काम थालनी हुने मुग्लिन-पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उक्त पुल निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको पाण्डेले जानकारी दिए । उनका अनुसार आयोजनाले दुइ खण्डमा सम्झौता गरेर काम गरिरहेको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुइतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।
डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।










