उज्यालो भविष्य बोकेको बुद्धसिंह मोटर मार्गको दयनीय अवस्था

नेताले भाषणमा सडक कालोपत्रे र घुमाउनेमा पुल पनि बनाए तर, व्यवहारमा भएन ः स्थानीय उपभोक्ता

  • नारायण खड्का (दमौली)

सड्क सञ्जाल विस्तारलाई विकाससंग जोडेर हेरिन्छ र विकासको नाममा राज्यले सडक विस्तारमै ठूलो लगानि पनि गरेको छ। तर, सडक विस्तारसंगै त्यसको आवश्यक स्तरोन्नति र संरक्षणमा ध्यान नदिंदा सडक दयनीय अवस्थामा पुग्नेमात्र होइन् उपभोक्ताले थप कष्ट र क्षति समेत व्यहोर्दै आएका छन् । अहिले यही अवस्थामा गुज्रिएको छ तनहुँको बुद्धसिंह मोटर मार्ग ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढ जोड्ने सबैभन्दा छोटो दूरी र पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा समेत लिइने बुद्धसिंह मोटर मार्ग अहिले दयनीय अवस्थामा छ । सर्वसाधारणकै सक्रियतामा २०५१ सालमा उपभोक्ता समिति खडा गरी दमौली-घुमाउने सडकको ट्रयाक खन्ने काम शुरु गरिएको थियो ।

अझै पनि विकासको उज्यालो देख्न नपाएको तनहुँको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसंग जोड्ने उद्देश्यका साथ बुद्धसिंह मोटर मार्ग विस्तार गरिएको दशकौ बित्ति सकेको छ । यो सडकबाट स्थानीयले लाभ लिनुको सट्टा थप सास्ती र क्षति व्यहोर्दै आउनुपरेको व्यास नगरपालिका-१४ रुम्सीका गुन राना बताउँछन् ।

‘वषर्ायाममा पहिरो र हिलो अनि हिउँदमा धुलोको सास्ती खेप्दै अएका छौं’, उनले भने, ‘यस क्षेत्रका बासिन्दा कालोपत्रे सडक र गाउँमा बिजुली बत्तीको उपभोग गर्ने प्रतिक्षामा छौं तर, न त सडकको स्तरोन्नती नै भएको छ न त बिकट गाउँबस्तिमा बिजुली बत्तीनै पुगेको छ ।’

‘चुनावका समयमा राजनीतिक दलका नेताहरुले भाषण गरी आशा त जगाउने गरेका छन् तर, काम नगर्दा सधै दुःख र कष्ट हामीले झेल्नुपरेको छ’, व्यास-१४ मास्दीघाटका गुमबहादुर मल्लले भने, ‘हाम्रा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०५८ सालमा संसदमा बोल्दा बुद्धसिंह मोटर मार्ग कालोपत्रे भइसकेको र घुमाउनेमा पनि पक्की पुल बन्न लागेको भने तर, त्यो कालोपत्रे कता गयो अहिलेसम्म हामीले देख्न पाएको छैन् ।’

जिल्लाको ऋषिङ, कोटा, बैदी, छिपछिपे, धरमपानी लगायतका ग्रामीण बस्तिका बासिन्दालाई सडक सञ्जालसंग जोड्ने लक्ष्यका साथ बुद्धसिंह मोटरमार्ग खनिएको थियो । सडक खनिएको दशकौं वर्ष बितेपनि अझै पूर्णता पाउन नसकेको बन्दिपुर गाउँपालिका-३ नाल्दीपुलकी आशकुमारी गुरुङ बताउँछिन् ।

सदरमुकाम दमौलीबाट घुमाउनेघाटसम्मको करिब ३२ किलोमिटर दुरीको सडक सेती नदीको किनारै किनार खनिएको छ । सडक खनिएसंगै वर्षायाममा ठाउँठाउँमा पहिरो खस्ने गर्दा पैदल हिड्न समेत नसकिने अवस्था हुने व्यास-१४ मास्दीघाटकी नरीमाया थापा बताउँछन् । ‘अहिले हिउँदमा मुस्किलले आधा दर्जन यात्रु बहाक सवारी साधान चल्छन् तर, गन्तव्यमा नपुगिन्जेलसम्म यात्रा त्रासपूर्ण हुन्छ’, उनले भनिन्, ‘कालोपत्रे सडक र घरघरमा बिजुली बत्ती बाल्ने आशा र प्रतिक्षामा बसेका हामीले सास्ती मात्रै झेल्नुपरेको छ ।’

सडकको स्तरोन्नती र पहिरो रोकथामको काम नहुँदा सडकका किनारमा बसेका केही बस्ति पहिरोले समेत बगाएर सेतीमा पुर्‍याएको छ । राम्रो सडक र घरघरमा बिजुली बत्ती बाल्ने आशा र प्रतिक्षामा बसेकाहरु सामान्य विरामी हुँदा औषधी उपचार तथा बालबालिकाले सहज रुपमा पठनपाठन गर्न समेत नपाएको व्यास-१४ मास्दीघाटकी दिलसरा आले बताउँछिन् ।

मुलुक संघीयतामा जानुपूर्व साविकका गाउँ विकास समिति र उपभोक्ताहरुको लगानि तथा सक्रियतामा समय समयमा सडक मर्मत सुधार गर्ने गरेपनि अहिले बुद्धसिंह मोटर मार्ग प्रदेश सरकार मातहत छ । तर, प्रदेश सरकारले यो मोटरमार्गलाई आवश्यक बजेट व्यवस्थापन गर्न नसकेको र राजनीतिक दलका नेताहरुले पनि यो मोटर मार्गलाई भाषणमा मात्र सिमित राखेको बुद्धसिंह मोटरमार्गका पूर्वअध्यक्ष चन्द्रबहादुर गुरुङ बताउँछन् ।

यो मोटर मार्ग अन्तरगत आँवुखैरेनी गाउँपालिका खण्डको लाब्दी खोलामा पुल निर्माण कार्य थालिएको ८ वर्ष बितेको छ तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । यस्तै, पृथ्वीराजमार्गसंग जोड्नका लागि घुमाउने घाटमा पनि पक्की पुल निर्माण कार्य अगाडि बढाइएको १५ वर्षबितेको छ । तर, यहाँ पनि काम अगाडि बढ्न नसकेको पूर्वअध्यक्ष गुरुङ बताउँछन् ।

पोखरा-डुम्रे-आँवुखैरेनी-मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंहमार्ग हुँदै घुमाउने निस्किएर नारायणगढ पुग्न करिब २३ किलोमिटर दुरी छोटो पर्ने बताइन्छ । तर, यो मार्गको न त समयमा स्तरोन्नती हुने गरेको छ न त घुमाउनेमा पक्की पुलनै निर्माण भएको छ ।

यो मार्गलाई मुग्लिङ-नारायणगढ सडकसंग जोड्न घुमाउनेमा पक्की पुल निर्माण गर्नुपर्ने हुन्छ । यहाँ पुल निर्माणका लागि वि.सं. २०७५ माघ महिनामा हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीसंग वि.सं. २०७८ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ८ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । तर, पुल निर्माण सम्पन्न हुने बेलासम्म घुमाउनेमा पुल निर्माण शुरु हुन सकेको छैन ।

निर्माणको जिम्मा लिएको कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ-नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको बताउँदै आएको छ । कम्पनीले घुमाउनेमा १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल आधुनिक ‘आर्क’ डिजाइनमा बनाउने जिम्मा लिएको छ ।

विकासमा पछाडी परेको तनहुँको कछार क्षेत्र मात्र होइन समग्र गण्डकी प्रदेशकै भाग्य र भविष्यसंग समेत जोडिएको बुद्धसिंह मार्गको स्तरोन्नती र घुमाउने घाटको पुल निर्माणका लागि समयमै आवश्यक बजेट व्यवस्थापन गरी सबै सरोकारवाला निकाय, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले समेत चासो दिन सकेमा यस क्षेत्रका बासिन्दाले विकासको स्वाद लिन पाउने छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker