शुक्लागण्डकीले फोहोर व्यवस्थापनको नाममा डेढ करोड सक्यो, उपलब्धी शून्य

संकलन केन्द्र प्रयोगमा आएन, ठेक्कामा दलीय स्वार्थ जोडिदा अख्तियारमा उजुरी

  • राजकुमार आले (दुलेगौंडा)

जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखिनै तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहोरलाई मोहरमा रुपान्तरण गर्ने चर्चा चलेको थियो । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल अब करिब डेढ वर्ष मात्र बाँकी छ । तर, शुक्लागण्डकी नगरपालिकाबाट निस्कने फोहोरको अझै उचित व्यवस्थापन हुन सकेको छैन । नगरमा फोहोर व्यवस्थापनको विषय निकै जटिल बन्दै गएको छ। फोहोर व्यवस्थापनको कुरा उठ्छ, छलफल हुन्छ, अवलोकन भ्रमण भइरहेको छ, सोही अनुसार खर्च पनि भएकै छ । तर, परिणाम भने देखिएको छैन । वन, वातावरण तथा फोहोर व्यवस्थापन शाखाका अनुसार फोहोरको उचित व्यवस्थापनका लागि भन्दै हालसम्म करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको छ। तर समस्या ज्यूँको त्यूँ छ ।

नगरका मुख्य बजार क्षेत्रबाट निस्कने फोहोर दुलेगौँडा बजारको तल्लो भाग कसेरी छेउ सेती नदी किनार तथा वडा नं. ५ को जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पछाडीको खोल्सीमा फालिदै आएको छ । त्यसैमाथि प्लाष्टिकजन्य फोहोरमा आगो लगाइदिदा वातावरण दुर्गन्धित र प्रदुषित भएको छ । दुलेगौंडाको हेल्थपोष्ट चोकदेखि ओरालो झरेपछि नाक थुन्नुपर्छ भने यत्रतत्र फालिएका फोहोर देख्दा आँखै छोप्नुपर्ने अवस्था आएको छ ।

नगरपालिकाको उचित नीति र योजना नहुँदा र स्थानीयवासीले पनि जथाभावी फोहोर फालिदिंदा यो अवस्था आएको यात्रुहरु बताउँछन् । यहि बाटो भएर जनप्रतिनिधिहरु कयौँपटक ओहोरदोहोर गर्छन् । त्यो फोहोर देख्दा हिड्ने यात्रुहरुले त नाक थुन्छन् तर जनप्रतिनिधिले देखे पनि नदेखे झैं गरेको स्थानीयको गुनासो गर्छन ।

फोहोर व्यवस्थापन गरी प्रदेशमै नमुना बनेका स्याङ्जाको वालिङ नगरपालिकाको अवलोकन भ्रमण र छलफलका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु पुगे । सोही मोडलमा संकलन केन्द्र बनाउने भन्दै बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर आव २०७५/०७६ को बजेटबाट वडा नं. ५ स्थित कसेरीचौरमा चारकोठाको भवन निर्माण गरिएको छ । करिब २० लाख रुपैयाँ खर्च गरी संकलन केन्द्र निर्माण गरिएको योजना शाखाका प्रमुख इन्जिनियर तारापति भट्टराइले बताए ।

फोहोर संकलनका लागि बनाईको केन्द्र अलपत्र अवस्थामा । तस्विर : राजकुमार/भञ्ज्याङ

उनका अनुसार केन्द्र जानआउनका लागि व्यवस्थित बाटो बनाउँदा ५० लाख र फोहोर संकलन गर्न एउटा टिप्पर खरिद गर्दा २८ लाख रुपैयाँ खर्च भएको छ । संकलन केन्द्रको सुरक्षा र संरक्षण नहुँदा झयालका सिसाहरु फुटिसकेका छन् । दुइ बर्षअघि बनेको फोहोर संकलन केन्द्र उता प्रयोगहिन बनेको छ भने यता फोहोरको डंगुर बस्ती छेउछाउमै लगेर फालिदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको छ । फोहोरमैलाको उचित व्यवस्थापनका लागि नगरपालिकाले टेण्डर आव्हान गरेको थियो । १० वटा कम्पनीले ठेक्काका लागि फाराम दर्ता गरेको थियो । तिमध्ये नगरपालिकाले आर्थिक तथा प्राविधिक प्रस्तावमाथि मुल्यांकन गरी २०७६ चैत्र १८ गते सापकोटा निर्माण सेवा शुक्लागण्डकी-६, खैरेनीटारलाई छनोट गरेको थियो ।

‘कम्पनी छनोट गरेको ७ दिनभित्र सम्झौताको लागि नगरपालिकाले पत्र पठायो, तर तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीको सरुवा भएपछि सम्झौता हुन सकेन’, सापकोटा निर्माण सेवाका संचालक अर्जुन सापकोटाले भने, ‘केही दिनपछि प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विभिन्न वहाना बनाएर सम्झौतामा हस्ताक्षर गर्न नै मानेनन् ।’ सापकोटाले भने, ‘सम्झौता गर्ने बेलामा देवबहादुर सरको सरुवा भयो, त्यसपछि गंगालाल सर आउनु भो, उहाँले २/३ दिनमा सम्झौता गर्न आउनुस् भनेर चिठी पनि दिनुभयो, त्यतिबेला लकडाउन शुरु भयो, पछि सम्झौता गरौं भन्दा सक्दिन भन्नुभयो ।’

आफु धेरै पटक नगरपालिका धाएको तर भित्री कुरो के हो बुझन नसकेको सापकोटा बताउँछन् । ‘नगरप्रमुख किसान गुरुङलाई भेट्दा काम अगाडी बढाऊँ न हो बढाऊ भन्नुहुन्छ, कसले रोकेको हो, कस्ले अगाडी बढाउने हो, मान्छे नै चिनेको छैन’ उनले भने, ‘हामी जिम्मा लिन तयार छौं, नगरलाई जिम्मा दिन किन अप्ठ्यारो परेको हो बुझनै सकिएन ।’

यता, वन, वातावरण तथा फोहोरमैला व्यवस्थापन शाखा प्रमुख राजेन्द्र सोती जनप्रतिनिधिबीचको विवादले गर्दा काम अगाडी बढ्न नसकेको बताउँछन् । ‘कम्पनी छनोट गर्दा जनप्रतिनिधिहरुले आ-आफ्नो पक्षकालाई अगाडी बढाउन जोड दिएको जस्तो देखियो’ शाखा प्रमुख सोती भन्छन्, ‘टेण्डरमार्फत् कम्पनी छनोट भइसकेपछि एक पक्षले दिनुपर्छ र अर्काे पक्षले दिनुहुन्न भन्ने एक किसिमको द्वन्द्व सिर्जना भयो, द्वन्द्वकै बीचमा अख्तियारमा बेनामे उजुरी परेपछि अहिले फोहोर व्यवस्थापनको काम अगाडी बढ्न सकेको छैन।’

आफुहरुले नगरवासीको चाहाना अनुसार फोहोर व्यवस्थापनको काम अगाडी बढाइरहेको तर जनप्रतिनिधिहरुको दलीय स्वार्थका कारण समस्या सिर्जना भएको सोतीले स्पष्ट पारे । ‘शाखा प्रमुखले हिसाबले मैले यो विषयका विभिन्न गतिविधिहरु बढाएकै हो, एउटा शाखाले मात्र पनि हुदो रहेनछ’, उनले भने, ‘एकखाले दलीय स्वार्थले गर्दा यो रोकिएको हो, उहाँहरुबीचको स्वार्थ मिलाउन सकियो भने तुरुन्तै अगाडी बढाउन सकिन्छ, कुनै समस्या छैन ।’

फोहोर व्यवस्थापनको लागि हालसम्म करिब डेढ करोड खर्च भइसेको उनले बताए । उनका अनुसार डिपिआर निर्माण गोष्ठी, विज्ञसंग छलफल, अवलोकन भ्रमण, संकलन केन्द्र तथा त्यहाँ जाने सडक निर्माण, टिप्पर खरिदमा सो रकम खर्च भएको बताइएको छ ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई फोहोर व्यवस्थापनको काम रोकिएको विषयमा जिज्ञासा राख्दा औपचारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया नदिने जवाफ दिए । उनले भिडियो खिच्न र अडियो रेकडिङ् गर्न अस्विकार गरे । तर, अनौपचारिक कुरा गर्दै सुवेदीले फोहोर व्यवस्थापनको विषयलाई जनप्रतिनिधिहरुले (नगरपालिका)ले हलुका रुपमा लिएको भन्दै यो विषय त्यस्तो हलुका विषय नभएको बताए । फोहोर व्यवस्थापनका लागि जिम्मा पाएको कम्पनीसंग कुनै भिजन नै नदेखिएको समेत उनको भनाई थियो ।

जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पछाडीको खोल्सीमा जल्दै गरेको फोहोर

‘ठेक्का पाएपछि अहिले फाले जस्तो फाल्ने त होइन, प्रशोधन गर्न मिल्नेलाई प्रशोधन गर्नुपर्‍यो, पुनः प्रयोग गर्न मिल्ने नमिल्ने छुट्याउनु पर्‍यो, यो विषय सजिलो त छैन नि !’, उनले भने, ‘यति मात्र होइन, सम्झौताका सर्तहरुबारे बोर्डमा विवाद छ, अख्तियारमा उजुरी परेको छ, बोर्डबाट पास भएर आए, सम्झौतामा हस्ताक्षर गर्न मलाई कुनै समस्या छैन ।’

नगरप्रमुख किसान गुरुङले फोहोर व्यवस्थापनको विषय अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बताए । टेण्डरमार्फत् कम्पनी छनोट गर्दा व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीको कागजपत्र र सम्झौताहरु बाँभिएको र ठेक्काको समयवधि १५ बर्ष उल्लेख गरिएको हुँदा यो दुइ विषयमा जनप्रतिनिधिहरुबीच सहमती हुन नसकेकाले दोस्रो पक्ष (छनोट कम्पनीसंग) सम्झौता हुन नसकेको नगरप्रमुख गुरुङले प्रष्ट पारे । कम्पनी छनोटमा दलीय स्वार्थले गर्दा योग्यलाई छाडेर अयोग्य कम्पनीलाई छनोट गरिएको आरोप लगाई अख्तियारमा उजुरी परेको बताइएको छ ।

नगरपालिकाले अख्तियारको प्रतिउत्तर दिइसकेको र अख्तियारले कुनै किसिमको निर्णय गर्नुपदैन, नगरपालिकाले व्यवस्थापन गरे हुन्छ भन्ने आश्वासन आफुहरुले पाएको नगरप्रमुख गुरुङले बताए । व्यवस्थापनको मापदण्डमा भएका कमीकमजोरी र त्रुटीहरुलाई सुधार गरी व्यवस्थापन गर्न आफुले प्रमुख प्रशासकीय अधिकृत, फोहोर व्यवस्थापन शाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन दिईसकेको भएपनि काम अगाडी बढ्न नसकेको बताउँदै नगरप्रमुख गुरुङले यस विषयलाई छिट्टै समधान गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘बोर्डले निर्णय गर्छौ र माघ ५ को नगरसभाबाट अनुमोदन गर्छौ, त्यसपछि तुरुन्तै यसको समाधान गर्नतर्फलाग्छौं ।’

तर, नगरसभामा फोहोर व्यवस्थापनको विषय उठेपनि गम्भिर रुपमा छलफल नभएको श्रोतले बताएको छ । कार्यपालिका बैठकमा पहिले नै छलफल भइसकेको विषयलाई पुनः अन्य पालिकाहरुले गरेको अभ्यास अनुसार अगाडी बढ्ने भनेर निर्णय भएको छ । नगरप्रमुख गुरुङले भने जस्तो विवादित बुँदामा छलफल गरी संशोधन गर्ने काम हुन सकेन । फोहोर व्यवस्थापनका लागि बर्षेनी बजेट विनियोजन गरिराख्ने तर परिणाम नदेखिदा नगरवासी आक्रोशित बनेका छन्। यस विषयले जनप्रतिनिधिहरु तथा कर्मचारीको कार्यक्षमतामाथि प्रश्न समेत उठ्न थालेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker