तनहुँमा २८६ जनता आवास कार्यक्रमबाट घर निर्माण हुँदै
भञ्ज्याङ समाचारदाता (दमौली)

जनता आवास कार्यक्रम अन्तर्गत तनहुँका १० स्थानीय तहमा गरी २८६ घर निर्माणाधीन अवस्थामा रहेका छन् । पूर्वाधार विकास कार्यालयका अनुसार चार नगरपालिका शुक्लागण्डकीमा ६३, व्यासमा ४४ भिमादमा ३५, भानुमा ३५ रहेका छन् । त्यसैगरी छवटा गाउँपालिका घिरिङमा २५, म्याग्देमा २२, देवघाटमा २१, ऋषिङमा १५, बन्दीपुरमा १३ र आँबुखैरेनीमा १३ घर निर्माण भइरहेका छन् ।
निर्माणका क्रममा रहेका घरको ५० प्रतिशत काम पूरा भइसकेको कार्यालयका इञ्जिनीयर विजय अधिकारीले जानकारी दिए । जनता आवास कार्यक्रमको सदस्य सचिवसमेत रहनुभएका उहाँले रकम भुक्तानीका लागि संघीय सरकारले पर्याप्त बजेट नपाएकाले घर निर्माण कार्य प्रभावित भएको बताए । रु एक करोड ३९ लाख मात्रै बजेट निकासी भएको छ ।
उहाँले भन्नुभयो, “करीब रु दुइ करोड थप रकम भुक्तानीका लागि आवश्यकपर्ने देखिएको छ ।” जग खनेपछि रु ८३ हजार १२५, डिपिसी गरेपछि दोस्रो किस्ता रु ९९ हजार ७५०, गारो मेटाएपछि तेस्रो किस्ता रु एक लाख १६ हजार ३७५ र निर्माण पूरा भएपछि अन्तिम किस्ता रु ३३ हजार २०० प्राप्त गर्ने प्रावधान रहेको छ ।
कार्यक्रमअन्तर्गत घर निर्माण भएका अल्पसंख्यक, सिमान्तकृत, पिछडिएका, दलित समुदायले रु तीन लाख ३२ हजार ५०० प्राप्त गर्ने प्रावधान रहेको छ । जनता आवास कार्यक्रमले घर निर्माणका लागि सहयोग गरेपछि खुशी लागेको व्यास नगरपालिका-१ भादगाउँका खुमबहादुर दरैले बताए । खरको छानामुनि बाँसले बारेको घरमा बस्नुपरेको थियो । उहाँले भन्नुभयो, “घर बनेपछि हावाहुरी र पानी वर्षा हुँदा कठिनाइ भोग्दै आएको समस्याको अन्त्य हुने विश्वास गरेको छु ।”