दमौलीमा पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु (तस्विर सहित)
भञ्ज्याङ न्यूज
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा पाँचौं आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सञ्चालन गरेको छ ।
महोत्सवको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरुले आ-आफ्नो जातिय पहिचान झल्कने भेषभूषामा सजिएर दमौलीमा साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

‘अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नाराका साथ आगामी माघ ३ गतेसम्म महोत्सव सञ्चालन गरिदै छ ।
महोत्सवस्थलमा २३० कक्ष निर्माण गरिएको महोत्सवका प्रवक्ता नन्दु थापामगरले बताए । तीन लाख दर्शकले महोत्सवको अवलोकन गर्नुका साथै एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य आयोजकले राखेको छ ।

विपी वनवाटिकाको खेल मैदानमा सञ्चालन गरिने महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनका लागि राष्ट्रियस्तरका ख्यात्रि्राप्त कलाकार ल्याइने परिषद्का अध्यक्ष सुजित हिराचनले बताए ।
अध्यक्ष हिराचनका अनुसार महोत्सवमा २१० व्यवसायीक र २० विभिन्न प्रदर्शनीका स्टलहरु रहेका छन् । महोत्सवको तनहुँका विभिन्न जातीय संघ संस्थाहरु सह आयोजक रहेका छन् ।

महोत्सवको माध्यमबाट आदिवासी जनजाती समुदायको कला र संस्कृतीको संरक्षण तथा आदिवासी जनजातीको संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, जनजातीको सांस्कृतिक झाँकी, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाईलो मेला, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, लोपोन्मुक राउटे जातीको प्रदर्शनी, सांस्कृतिक नमुनाग्रामको भ्रमण, धार्मिक तथा ऐतिहाँसिक स्थलको भ्रमण लगायतका आकर्षाहरु रहेका छन् ।

महोत्सवको कारण तनहुँका आदिवासी जनजातीहरुको कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन हुने, उनीहरुका कला र संस्कृतीको प्रचार प्रसार हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।
नेपालमा सबैभन्दा धेरै आदिवासी जनजातीहरु बसोबास गर्ने तनहुँ जिल्ला हो । यस्ता मेला र महोत्सवको कारण विभिन्न समुदायको लोपोन्मुख कला र संस्कृतीको संरक्षणमा टेवा पुग्ने विश्वास महासंघले विश्वास गरेको छ । साथै हाल सुस्ताइरहेको आर्थिक गतिविधिलाई पनि यो महोत्सवले चलायामान गराउने अपेक्षा गरिएको छ ।

कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएको आयोजकले जनाएको छ । प्रदर्शनी कक्षमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटी इलेक्टिकल्स, बैंक तथा वित्तीय संस्था, आइसक्रिम स्टल, अटोमोबाइल्स, स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री स्थल लगायत रहने परिषद्का निवर्तमान अध्यक्ष एवं महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।

महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० टिकट शुल्क कायम गरिएको छ । स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवर्द्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा मादी र सेतीमा जलविहार, आदिवासी जनजातीको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रदर्शनी, जीवनशैली प्रस्तुति, नमुना घर निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय प्रतिभा प्रस्फुटन लगायत आकर्षण रहेका छन् ।

महोत्सवमा राष्ट्रिय कलाकारमा पशुपति शर्मा, खेम सेन्चुरी, राजु परियार, प्रीति आले, भूमिका गिरी, कला लम्साल, बद्री पंगेनी, सुप्रिम मल्ल, सम्झना लामिछाने मगर, आशा बिसी, सुमन परियार, सन्दिपसिं राना, अस्मिता डल्लाकोटी लगायत कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

तनहुँमा ६५ प्रतिशत आदिवासी जनजाती बसोबास गर्ने तथ्याङ्क छ । आदिवासीको यो उर्वर भूमिमा २०६५ सालमा पहिलो आदिवासी महोत्सव भएको थियो ।

संस्कृतिको जगेर्ना र प्रवर्द्धनमात्रै होइन, यो महोत्सवले आर्थिक, सामाजिक र पर्यटन क्षेत्रलाई चलायमान पनि बनाउने छ ।

रमाइलो मेला, राउटे समुदायको प्रस्तुति, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबर्द्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार महोतसवका मुख्य आकर्षणका रुपमा रहेका छन् ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ









