सरकारको कमजोरीले बाआमा एक्लिनु परेको हो : नगरप्रमुख गुरुङ
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले कमजोर हुँदै गएका बाआमाको सेवा गर्नु पाउनु सौभाग्य भएको बताएका छन् । बाआमाको निस्वार्थ सेवाले पुण्य कमाउनु प्राप्ति हुने बताउँदै उनले बाआमा भन्ने शब्द जीवनमा कहिल्यै भुल्न नहुने र नसकिने शब्द भएको बताए । नगरप्रमुख गुरुङले भने, ‘उमेर बढ्दै जाँदा आँखा नदेख्ने, कान नसुन्ने, हात खुट्टा नचल्ने अवस्थाका बाआमाको स्याहार सुसार गर्ने दायित्व हाम्रै हो, सन्तानको हो, यखि यो अवस्थामा आफुलाई जन्मदिने बाआमाको सेवा गरिएन भने त्यो भन्दा ठुलो पाप अरु केही हुन्न ।’
शुक्लागण्डकी नागरिक समाजले विहीबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वृद्धवृद्धालाई सम्मान गर्दै नगरप्रमुख गुरुङले जन्माएर हुर्काउने, बढाउने र अहिलेको अवस्थामा ल्याईपुर्याउने बाआमाको संघर्ष र भुमिकालाई सन्तानले कहिल्यै विर्सन नहुने बताए । ‘घरलाई नै वृद्धाआमश्रम बनाउनु पर्छ भन्ने पक्षमा म थिए, तर अहिलेको अवस्था हेर्दा हामीलाई नै वृद्धाआश्रम चाहिने हो कि भन्ने लाग्न थालेको छ’, उनले भने, ‘मेरै उमेर समुहका साथीहरु एक्लै भइसकेका छन्, छोराछोरीहरु कोही अमेरिका, कोही अष्ट्रेलिया, कोही यु.के, क्यानाडा छन् । विदेशिएका मध्ये ९५ प्रतिशत घर नफर्कने गरेको पाइएको छ । हाम्रै पालामा पो कोही नहुने हो कि भन्ने मलाई डर लाग्न थालेको छ ।’
कार्यक्रममा ज्येष्ठ नागरिक महासंघ गण्डकीका अध्यक्ष कुसुम केशव पराजुलीले ज्येष्ठ नागरिकहरुको धेरै समस्या रहेको बताए । उनले ज्येष्ठ नागरिकहरुमा देखिने अल्जाइमर (विर्सने रोग)का कारण पनि छोराबुहारीहरुबाट हेला र हिंसामा पर्नुपरेको बताए । यो समस्या एउटा घरको नभएर राष्ट्रकै समस्याको रुपमा देखा परेको र बढ्दो शहरीकरणले ज्येष्ठ नागरिकहरुलाई थप चुनौतिहरु थपिएको उल्लेख गरे ।
नागरिक समाजका अध्यक्ष खेमराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पुर्व अध्यक्ष दिव्यरमण अर्याल, उपाध्यक्ष रिता अधिकारी, सचिव उमानाथ पाठक, सम्मानित ज्येष्ठ नागरिकहरुबाट १०१ बर्षीय गणेशबहादुर राउत, झपड बहादुर केसी, भगवती गौतम लगायतले बोलेका थिए । ज्येष्ठ नागरिकहरुले सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै बाँचुञ्जेल सबैको साथ, माया र सम्मान् होस् भन्ने चाहाना आफुहरुको भएको बताएका थिए । समाजले वडा नं. ५ का ज्येष्ठ नागरिकहरुलाई एक/एक वटा ब्लाङ्केट र जुस दिएर सम्मान गरेको थियो ।