घिरिङ गाउँपालिका : भौगोलिक विकटता र आन्तरिक स्रोत कमजोर हुँदा अपेक्षाकृत ढंगले शिक्षा क्षेत्रको विकास भएन

घिरिङ गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोडबल दिंदै आएको छ । भौगोलिक विकटता ग्रामीण परिवेश तथा पालिकाको आन्तरिक आम्दानीका श्रोत कमजोर हुँदा गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि अपेक्षित ढंगले अगाढि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा बताउँछन् ।
बालबालिकालाई सीपयुक्त व्यवहारिक शिक्षा प्रदान गर्ने गरी अगाडि बढेको गाउँपालिकाले चन्द्रज्योती माध्यमिक विद्यालयमा डिम्लोमा इन्जिनियारीङ्ग, सिटिइभिटी अन्तर्गत पुट्टारमा फरेस्ट्रि लगायतका प्राविधिक धारका विषयहरु पठनपाठन गरिदै आइएको छ । गाउँपालिकाले शिक्षकहरुको दरबन्दी मिलान, विषयगत शिक्षकको व्यवस्थापन, शिक्षकहरुको क्षमता अभिबृद्धिका कार्यक्रम, अभिभावक शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले स्थानीय पठ्यक्रम तयार गरी विद्यालयमा पठनपाठन गर्ने व्यवस्था मिलाएको छ ।
‘हरेक कुरासंग अर्थ जोडिदो रहेछ । हाम्रो पालिकाको आन्तरिक श्रोतमा कमजोर छ, केही श्रोतहरु छैन । यसको श्रोत भनेको सामान्य सिफारिस र भूमि कर बाहेक अन्य छैन। यो शिक्षा ऐन र नीति अनुसार चल्नका लागि स्थानीय तह पनि अलि मज्बुत भए राम्रो हुने रहेछ’, अध्यक्ष थापाले भने, ‘बालबिकासका सहजकर्ताहरुलाई संघीय सरकारले १० हजार दिने र पालिका केही रकम थप गरेर साढे १७ हजार रुपैयाँ उपलब्ध गराउँदै आइएको छ । केही विद्यालयमा शिक्षक कम र दरबन्दी कम भएकामा पालिकाबाट शिक्षक सहयोग भनेर राखेका छौं । केही विद्यार्थीका लागि प्रोत्साहनका लागि छात्राबृत्तिको व्यवस्था गरेका छौं । तह अनुसार अन्य ठाउँबाट छात्रबृत्ति नपाएका विद्यार्थीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्मको छात्रबृत्ति उपलब्ध गराएका छौं ।’
‘चुनैतिहरु धेरै छन् । चुनौति पुरा गर्दागर्दै पनि विद्यार्थीको लगाव नभएर हो या हाम्रो व्यवस्थापन कमि, शिक्षकले गुणस्तरीय शिक्षा दिन नसकेकोले हो, नतिजा राम्रो आउन सकेको छैन’, उनले भने, ‘हाम्रो अर्को समस्या भनेको बसाईसराईले पनि विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको छ । अभिभावकले एउटा बच्चा जन्माएपछि अर्को नजन्माउँदा पनि विद्यार्थी संख्यमा कमि हुँदै आएको छ । विद्यार्थी कम भएपनि शिक्षक उही संख्यामा आवश्यक पर्ने रहेछ, विषयगत शिक्षक र दरबन्दीको समस्या छ । ग्रामीण क्षेत्रका विद्यालयहरुमा मुख्य समस्या भनेको अहिले गणित र विज्ञान विषयका शिक्षक अभाव देखिएको छ ।’
जागिर खाएर मात्रै शैक्षिक बेरोजगार हट्ने अवस्था नभएकाले अबका खाँचो भनेको व्यवहारिक र सीपयुक्त शिक्षानै भएको महशुस गरी गाउँपालिकाले स्थानीयस्तरमा बिक्ने र आवश्यकतालाई पहिचान गरी स्वरोजगार मुलक शिक्षा प्रदान गर्ने नीति लिएर अगाडि बढेको अध्यक्ष थापाले बताए । उनले भने, ‘जबसम्म स्वारोजगार बन्न खोज्दैनन् तबसम्म शैक्षिक बेरोजगार हट्ने अवस्था छैन । स्वरोजगार मुलक कार्यक्रम सञ्चालनका लागि केन्द्रीय सरकारले पनि त्यही खालको नीति ल्याएर अनुदान तथा सहुलियत ब्याजद्वारमा ऋण उपलब्ध गराउन सक्नुपर्छ ।’
‘अहिले हाम्रो समाजमा गाउँठाउँमा मेहनत गरी स्वरोजगार बन्ने भन्दा पनि विदेश गए भविष्य सुध्रिन्छ भन्ने भाष्या स्थापित भएकाले गाउँ युवा बिहिन बन्न पुगेका छन्’, उनले भने, ‘ग्रामीण क्षेत्रका युवालाई आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जगाउन संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा प्रभावकारी ढंगले कार्यक्रमहरु अगाडि बढाउनुपर्ने खाँचो छ। हामीले सीप मुलक तालिमहरु चलाउँदा पनि पहिलो दिनमा धेरैको सहभागिता हुन्छ तर सकिने समयसम्म सहभागिता न्युन हुन्छ । तालिम भनेको प्रमाणपत्र लिने मात्रै भएको छ ।’
स्थानीय हावापानी, वातावरणमा भिज्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको अध्यक्ष थापा बताउँछन् । उनले भने, ‘स्थानीय हावापानी र आवश्यकतालाई पहिचान गरी वा विश्व बजारमा बिक्ने खालको शिक्षा दिनुप¥यो । बाहिराको देखासिकिमा हाम्रो शिक्षा नीति चलेको छ । हामी आफैले आफैलाई विश्वास गरिरहेका छैनौ ।’
‘शिक्षकले पनि आफ्नो बालबालिका संस्थागत विद्यालयमा लगेर पढाउने, नेताले पनि शहर वा विदेशमा लगेर आफ्ना बालबच्चा पढाउने, यसमा हाम्रो कमजोरी नै छ । कृषकले आफ्नो बालबच्चालाई कृषक बनाउन खोज्दैनन्’, अध्यक्ष थापाले भने, ‘यता ठुलो उद्योग कलकारखाना पनि छैनन्, साना घरेलु उद्योगमा हाम्रो ध्यान जाँदैन, अहिले सक्नेले उच्च शिक्षाका नाममा विदेश जाने नसक्नेले खाडी मुलुकमा रोजगारी गर्न जाने सोच र व्यवहारले जरा गाडेको छ । विदेश जाने केही कमाएर आउने अनि घरमा रमाउने खालको हाम्रो सामाजिक सोच छ, यसलाई चिर्नु अहिलेको आवश्यकता हो । यस खालको सोचले दीर्घकालिन रुपमा राम्रो गर्दैन र देशलाई पनि खोक्रो बनाउँदै लग्छ । त्यसैले, आफ्नो घरठाउँ सुहाउने शिक्षा नीति बने वा आफुले आर्जन गरेको शिक्षा व्यवसायिकमुलक, सीपमुलक, व्यवहारिक र जीवनउपयोगि भइदियो भने स्वारोजगारको लागि टेवा पुग्ने दखिन्छ । पाठ्यपुस्तकको घोकन्ते कथा मात्रै पढेर त्यसले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्दैन ।’

विद्यालयलाई आइसिटीमैत्री बनाउने प्रयास भइरहेका छन् : शिक्षा अधिकृत कृष्ण प्रसाद सुवेदी

घिरिङ गाउँपालिकामा २३ वटा प्राथमिक तह, ३ वटा आधारभूत तह र ७ वटा माध्यमिक तहका विद्यालयहरु सञ्चालनमा रहेका छन् । यी विद्यालयमा करिब २ हजार ७३२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने प्राविधिक धार तर्फ एक विद्यालयमा सिटिइभिटीको पढाइ हुने गरेको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले पालिकास्तरीय गाउँ शिक्षा योजना निर्माणप्रक्रिया अगाडि बढाएको र मागमा आधारित रहि शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरूको व्यावसायिक विकास र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आइएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी गराए ।
विद्यालयहरूको भौतिक संरचना र स्रोत साधन सुधारका लागि गाउँपालिकाले प्रत्येक विद्यालयलाई आइसिटीमैत्री बनाउने उद्देश्यले कम्प्युर, प्रिन्टरको व्यवस्थापन गर्नुका साथै शैक्षिक सामाग्रि खरिदका लागि प्रति विद्यार्थी शिक्षण सहयोग अनुदान रकम प्रदान गर्ने गरिएको शिक्षा अधिकृत सुवेदीले जानकारी गराए ।
शिक्षाको सहज पहुँच र समानता सुनिश्चित गर्न गाउँपालिकाले अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रवृत्ति तथा कक्षा १–८ सम्म अध्ययरत छात्रा तथा दलित छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गरेको छ । यस्तै, शिक्षाको गुणस्तर र परिणाममा सुधार ल्याउनका लागि कक्षा १–३ सम्मका विद्यार्थीको मूल्याङ्कनका लागि मूल्याङ्कन पुस्तिका छपाई गरी वितरण, कक्षा ४–१० सम्मको पालिकास्तरीय चौमासिक रुपमा परीक्षा सञ्चालन गर्दै आएको शिक्षा अधिकृत सुवेदीले बताए ।
शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि स्मार्ट क्लास, अनलाइन शिक्षा र अन्य डिजिटल प्रविधिसंग जोड्दै अगाडि बढ्ने योजना बनाएको गाउँपालिकाले विद्यालयहरुलाई आवश्यक उपकरण, प्राविधिक ज्ञान र सीप विकासका लागि तालिमहरु सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाले विद्यालय व्यवस्थापन प्रणाली, विद्यालयको प्रशासनिक दक्षता सुधारका व्यवस्थापन समितिलाई क्षमता विकास तालिम सञ्चालन तथा आवश्यक सहजिकरण गर्दै आएको भएपनि प्राथमिक तहमा पढ्न र लेख्नको आधारभूत सीपको विकास तथा प्रारम्भिक शिक्षा र बालबालिकामा आधारभूत सीपहरूको विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकेको छैन ।
यस्तै, गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षका लागि १ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने पालिकाको आन्तरिक श्रोत बलियो नभएका कारण बजेट रकमान्तर गर्दै शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था रहेको छ ।
गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा शिक्षा नियमावली अनुसार दरबन्दी पुरा रहेपनि विषयगत शिक्षकहरुको अभाव झेल्दै आएको छ । गाउँपालिकाको शिक्षा क्षेत्रको विकासका लागि बजेट न्यून रहेको र पालिकाले विनियोजन गरेको बजेट तलब भत्तामै समिति हुने भएकाले शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालनमा समस्याहरु झेल्नुपरेको शिक्षा अधिकारी सुवेदीले बताए ।
यस्तै पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुभन्दा पनि भौतिक पूर्वाधार तथा खरिदमा मात्र ध्यान दिदा पनि शिक्षा क्षेत्रको विकासमा समस्याहरु देखिने गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker