तनहुँका १० वटै पालिकामा लक्षित वर्गका व्यक्तिलाई पोषण प्याकेज उपलब्ध
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका दशवटै पालिकामा रहेका लक्षित वर्गका व्यक्तिलाई पोषण तथा सरसफाइ प्याकेजका सामग्री उपलब्ध गराइएको छ । स्वास्थ्य कार्यालय तनहुँले जिल्लामा रहेका एक हजार ४१३ जनालाई पोषण तथा सरसफाइ प्याकेज वितरण गर्न सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको हो ।
जिल्लामा ‘क’ वर्गका अपाङ्गता ८१७ र दलित तथा अपाङ्गता भएका गर्भवती र सुत्केरी ५९६ जनालाई उक्त प्याकेज वितरणका लागि सबै पालिकामा पठाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
गण्डकी प्रदेश सरकारको आव २०७८/०७९ मा सञ्चालन हुने अस्पताल सुदृढीकरण तथा पोषण अनुदान कार्यक्रम अन्तर्गत जिल्लामा आएको सामग्री पालिकाहरूमा पठाइएको उनले बताए । स्थानीय तहमा रहेका दलित, अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी महिला र ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि प्रदान गर्न आएको सामान पालिकामा पठाइसकिएको प्रमुख अधिकारीले बताए ।
स्थानीय तहबाट सिफारिस भइआएका विवरणका आधारमा स्वास्थ्य कार्यालय तनहुँले प्रदेश सरकारसमक्ष माग गरेपछि आएको सामान सम्बन्धित पालिकामा पठाइएको छ । उक्त कार्यक्रम अर्न्तर्गत दलित तथा अपाङ्गता भएका गर्भवती र तथा सुत्केरी महिलाहरूका लागि हातधुने साबुन, दाँत माझ्ने ब्रस, टुथपेष्ट, मिश्रति गेडागुडी पौने तीन किलोग्राम र आधा किलोका दरले घ्यू वितरण गरिनेछ ।
त्यसैगरी, ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि हात धुने साबुन, दाँत माझ्ने ब्रस, टुथपेष्ट, मिश्रति गेडागुडी करिब एक किलोग्राम र हात पुछ्ने रुमाल एक थान प्रदान गरिने भएको छ ।










