लालध्वज मार्गको गुवे खोलामा पक्की पुल निर्माण

  • राजकुमार आले (दुलेगौंडा)

तनहुँको लालध्वज मार्ग अन्तर्गत कात्रेदेखि थप्रेक जाने करिब ३.५ किमिको दुरीमा डिल्लीराम चौतारा छ । चौतरा कास्की र तनहुँको सिमानामा पर्छ । चौतारामुनी तालखोला, खुदीखोला र गुवे खोलामा मिसिएका छन् । त्यहाँनेर कुनै पनि खोलामा पुल छैन । पुल नहुँदा स्थानीयवासीलाई आवाज जावत गर्न कम्ता समस्या छैन । यी खोलाहरुबाट सबैभन्दा धेरै थप्रेकवासी प्रभावित छन्। गुवे खोला हिउँदमा सुकेर कमिला नै हिड्ने अवस्था आउँछ । तर बर्खामा गुवे खोला उर्लिदा आवत जावत ठप्पै हुन्छ ।

विरामी भएर उपचार गर्न अस्पताल समेत जान नसकेको तितो यथार्थ थप्रेकवासीसंग कति छन् कति ! विद्यार्थीलाई स्कुल जान, कृषकलाई तरकारी बेच्न, सामान ढुवानी गर्न, कर्मचारीलाई कार्यालय जान निकै सास्ती थियो । शुक्लागण्डकी-१ र २ जोड्ने जंघारमा दशकौदेखि पुल निर्माणका लागि माग गरेपनि पुल बन्न सकेको थिएन । अब भने उक्त स्थानमा शुक्लागण्डकी नगरपालिकाको लगानीमा पक्की पुल बन्ने भएको छ ।

उक्त मोटरेवल पक्की पुलको सोमबार शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले शिलान्यास गरेका छन् । पुल शिलान्यास हुँदैदेखि त्यहाँका स्थानीयवासीमा खुसीको सिमा छैन । स्थानीय महिला लक्ष्मीदेवी भण्डारी भन्छिन- ‘यहाँबाट पृथ्वी हाइवे पुग्न ५ मिनेट पनि लाग्दैन, तर पुल नहुँदा समुन्द्रको टापुमा रहेको देश जस्तै विकट ठाउँमा छौं, चारैतिर खोला छ, पुल छैन, आजसम्म हामीलाई पुल साह्रै पीडा छ ।’

पुल शिलान्यास भएपछि भण्डारीलाई निकै खुसी लागेको छ, आज हामीलाई एकै चोटी दुइटा खुसी मिलेको छ, उनले भनिन्, ‘यहाँ पनि पुलको शिलान्यास भयो, तालखोलामा पनि पुल बन्दैछ। अब बल्ल आशा जागेको छ । यहाँ उर्वरभुमि छ, पुल भयो भने हिउँद-बर्खो संधै तरकारी लगाउँछौ । गाईभैसी पाल्छौँ ।’

सोही ठाउँका ७० बर्षीय प्रेमराज ढकाल अन्तर्राष्ट्रिय युवा बर्ष प्राथमिक विद्यालय शेरावेंशीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । गुवे खोलामा पुल नहुँदा छरछिमेकका गाउँबाट आउने विद्यार्थीहरु घट्दै गएको ढकाल बताउँछन् । आफुहरुले विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरेपछि विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढेको तर खोलामा पुल नहुँदा ज्यानकै जोखिम भएकाले विद्यार्थीहरु घटेको उनको भनाई छ । ‘हामीलाई एउटा पक्की पुल असाध्यै आवश्यक थियो, धेरैपछि बल्ल आज पुलको शिलान्यास भएको छ, अब त पुल बन्छ भनेर ढुक्क छौ’, उनले भने, ‘हाम्रो खुसीको सीमा नै छैन ।’

आरसीसी मोडलमा बन्न लागेको पुल २० मि. लम्बाई र ६ मि. चौडाइको हुनेछ । उक्त पुल निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले भ्याटसहित १ करोड ९८ लाख ८२ हजार २८७ रुपैयाँ लागत अनुमान गरेको थियो । तर निर्माण कम्पनी बबुल अफजल खान जेभी स्याङ्जाले १ करोड ४७ लाख ४८ हजार ७७१ रुपैयाँमा सम्झौता गरेको छ । पुल आगामी जेठ मसान्तभित्र सक्ने गरी सम्झौता भएको नगरपालिकाका प्रमुख इन्जिनियर तारापति भट्टराइले जानकारी दिए ।

यस्तै, पुलको शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले सबैको साथ र सहयोगमा निर्धारित समय अगाबै पुल निर्माण हुने बताए । नगरपालिकाको आन्तरिक श्रोतबाट पुल निर्माणको कार्य शुरु गरिएको भन्दै नगरप्रमुख गुरुङले ठेकेदार कम्पनीलाई काम गर्ने सहज वातावरण बनाउन स्थानीयसंग आग्रह गरे । गाउँको उत्पादनलाई शहरसम्म लैजान मिल्ने गरी पुलको निर्माण शुरु गरिएको भन्दै वडा नं. १ वासीलाई कृषि तथा पशुपालनमा संलग्न हुन सुझाए। उनले सकड कालोपत्रे र पुल बनाउँदैमा समृद्धि हाँसिल गर्न नसकिने भएकाले उत्पादनसंग जोडिन आवश्यक रहेको बताए ।

‘यातायातको सुविभा सहज रुपमा संचालन गर्न सक्यौ र स्थानीयवासीलाई उत्पादनसंग जोड्न सक्यौ भने समृद्धि हाँसिल गर्न सक्छौं । हामीले भन्दै आएको उज्यालो शुक्लागण्डकी बनाउन सक्छौं’, उनले भने, ‘पुल बनाएर, सडक कालोपत्रे गरेर मात्र समृद्धि हुदैन, हामी आम्दानीसंग जोडिनुपर्छ ।’

त्यस्तै उपप्रमुख सविता रसाइलीले भुगोल तथा सिमित श्रोत र साधानका कारण नगरका सबै ठाउँमा एकै चोटी विकास गर्न कठिनाई भएको बताइन् । उनले उपलब्ध श्रोत र साधनको भरपुर मात्रामा प्रयोग गरी विकासका चरणलाई नगरपालिकाले अगाडी बढाइरहेको जानकारी गराइन । भोलि आउने जन-प्रतिनिधिहरुलाई काम गर्न सजिलो हुने गरी आधार तय भएको र अहिले भइरहेका विकासका कामहरुमा हरेक स्थानीय नगरवासीले यो हाम्रै लगानी हो भनेर अपनत्व महसुस गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले पुललाई गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि स्थानीय उपभोक्ताहरुले विशेष चासो र तत्परता देखाउन सुझाएका छन् । लालध्यवज मोटर मार्गका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी-१ का वडाध्यक्ष रविचन्द्र पौडेल, वडा नं. २ का वडाध्यक्ष जगतबहादुर गुरुङले बर्षौदेखि आफुहरुले पुल निर्माणका लागि पहल थालेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker