गण्डकी प्रदेशकै दोश्रो उत्कृष्ट बन्यो दमौली अस्पताल

  • भञ्ज्याङ समाचारदाता (दमौली)

गण्डकी प्रदेशका जिल्ला अस्पतालहरु मध्ये तनहुँको दमौली अस्पताल दोस्रो उत्कृष्ट हुन सफल भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको मूल्याङ्कनका आधारमा दमौली अस्पताल दोस्रो हुन सफल भएको हो। मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा रहेका अस्पतालको मूल्याङ्कन गरेकामा दमौली अस्पतालले ७७ प्रतिशत अंक प्राप्त गर्न सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाको आधारमा गरिएको मूल्याङ्कनका आधारमा अस्पताल दोस्रो उत्कृष्ट हुन सफल भएको अधिकारीले बताए । उनले भने, ‘सरकारको मूल्याङ्कनले हामीलाई थप काम गर्ने हौसला मिलेको छ ।’

मन्त्रालयको मूल्याङ्कनमा ७८ प्रतिशत प्राप्त गरी पर्वत जिल्ला पहिलो हुन सफल भएको छ । मन्त्रालयले विभिन्न ७१५ वटा बुँदामा मूल्याङ्कन गरेको थियो । अस्पताल व्यवस्थापन समितिले अस्पताल सुधारका लागि विभिन्न प्रयास गरिरहेको छ । अस्पतालमा नयाँनयाँ सेवा थप हुने क्रम जारी छ। हालै मात्र अस्पतालमा थाइराइडको उपचारको उपकरण आइपुगेको छ । उपकरण सञ्चालनपछि जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ ।

अस्पतालमा गत हप्ता मात्रै चार थान भेन्टिलेटर आएको थियो । हालै मात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको अधिकारीले बताए । विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको सो मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

१५ शय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुइ सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञसहितको सेवा दिन सकिने बताए ।

अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूति रोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्यावरोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्य चौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker