कोरोना कहरकै बीचमा विकास निर्माण धमाधम

कृष्ण न्यौपाने/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरेमा विकास निर्माणको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरकै बीचमा पनि फिरफिरेमा विभिन्न योजना निर्माणले गति लिएको हो । संघ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भई निर्माण शुरु गरिएका योजनालाई समयमै निर्माण सम्पन्न गर्न कामलाई अगाडि बढाइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो। “कोरोना कहर भए पनि विकास निर्माणलाई रोक्ने कुरा भएन, स्वास्थ्य मापदण्ड अपनाएर विकास निर्माणका कामलाई धमाधम अगाडि बढाएका छौँ”, गुरुङले भन्नुभयो ।

तीनै तहबाट बजेट विनियोजन भएर निर्माण शुरु भएका योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वडाध्यक्ष गुरुङका अनुसार वडाभित्र सञ्चालित योजनामध्ये ७० प्रतिशत योजना सम्पन्न भएर भुक्तानीसमेत प्रदान गरिसकिएको छ । “असारे विकास प्रतिस्थापन गर्नुपर्छ भन्ने उद्देश्य सहित समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ”, गुरुङले भन्नुभयो, “चैतमा नै योजना निर्माण सम्पन्न गर्ने तयारी भए पनि विविध कारणले गर्न सकेनौँ।”

यहाँ संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको गरी करीब रु पाँच करोड ५० लाख भन्दा बढीका योजना सञ्चालित छन् । सिँचाइ, पूर्वाधार, कृषिलगायत योजना चालु आर्थिक वर्षा सञ्चालित छन् । असार महिनामा आएर काम गर्ने प्रचलन अझै पनि कायम रहेकाले त्यस्तो परम्परा तोड्ने अभियानमा आफूहरू रहेको गुरुङले जानकारी दिनुभयो । यहाँ हाल दुलेगौडादेखि लामागाउँसम्म जोड्ने सडकमा नाली, तमु हिल पार्कमा पैदलमार्ग, घरबासको सामुदायिक भवन निर्माण लगायतका काम चलिरहेका छन् । दुलेगौडादेखि लामागाउँसम्म जोड्ने १७ किमी मोटरमार्गअर्न्तर्गत हाल नाली निर्माणको काम भइरहेको छ ।

चालु आवमा विनियोजित रु एक करोड ४० लाखको बजेटले बाटो ग्राभेल र तीन किलोमिटर नाली निर्माण हुनेछ । “बाटो चक्लाउने काम सकियो, अहिले नाली बन्दैछ”, गुरुङले भन्नुभयो । वडाको गौरवको योजनाका रूपमा रहेको तमु हिल उद्यानमा पैदलमार्ग निर्माणको कामसमेत शुरु भएको छ । पैदलमार्ग लगायत संरचना निर्माणका लागि चालु आर्थिक वर्षमा रु १७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब झल्काउने गरी यहाँ तमु हिल उद्यान बनाउन लागिएको छ। यसका लागि छ जना स्थानीयवासीले दश रोपनी जग्गादान गर्नुभएको छ । उद्यान निर्माण सम्पन्न गर्न करीब रु पाँच करोड लाग्ने अनुमान छ । उद्यानलाई गुरुङ समुदायका युवापुस्ताले इतिहासबारे अध्ययन गर्ने थलो बनाउने योजना रहेको बताइएको छ । उद्यानको आकर्षणमा फलिना क्होइबो धि, गुरुङ जातिको पैतृक कार्यसँग जोडिएको क्होइबोमा १२ वटा वर्गचक्रको मूर्तिले घेरिएको हुनेछ । गुरुङ समुदायको परम्परागत घर निर्माण गरी जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्किने सामग्री प्रदर्शनमा राखिनेछ । यहाँबाट गुरुङ समुदायका बारेमा सोध अध्ययनमा सहयोग पुग्ने जनाइएको छ । उद्यानभित्र छुट्टै गोरखा राइफल्स र शान्तिपार्कको परिकल्पना गरिएको छ । बालउद्यान, वनभोजस्थल, ‘भिआइपी’ सवारी र आपत्कालीन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने डिजाइनमा उल्लेख छ ।

यस्तै प्रदेश सरकारको रु २० लाख बजेटमा घडेरी सामुदायिक घरबासको भवन निर्माण भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नै मिलेनियम गुफा जाने बाटोमा पहिरो नियन्त्रणका लागि जाली भर्ने काम भइरहेको छ । यसका लागि यहाँका २५ युवालाई रोजगारी दिइएको छ । उक्त कार्यक्रमका लागि रु पाँच लाख ५० हजार बजेट विनियोजन गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार नगरपालिका र स्थानीयवासीको लागत साझेदारीमा ढोर तालबेँशीमा सामुदायिक भवन निर्माण कार्य पनि जारी छ । यसका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ भने स्थानीयवासीले रु पाँच लाखको साझेदारी गर्नेछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker