आँबुखैरेनीमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठक

तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठकमा आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का सशर्त तथा आन्तरिकतर्फका शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको छ ।
त्यसैगरी, प्रथम त्रैमासिक परीक्षा सञ्चालन, नतिजा विश्लेषण, विपद् व्यवस्थापन तथा न्यूनीकरण, कक्षा ४ र ५ को आन्तरिक मूल्याङ्कन, शैक्षिक उपलब्धि वृद्धि, डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि विद्यालयस्तरमा अपनाउनुपर्ने सावधानीका उपाय तथा विद्यालयहरूबीचका असल अभ्यास आदान–प्रदानलगायतका विषयमा पनि सहभागीहरूबीच छलफल भएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुवाँरले जानकारी गराइन् ।
बैठकले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ उपलब्धि सुधार तथा सुरक्षित र स्वास्थ्यमैत्री विद्यालय वातावरण निर्माणमा समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।










