ऋषिङका पहिरोपीडित परिवारलाई राहत वितरण
भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिकाका बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । अविरल झरीसंगै गत असार २४ गतेको बाढीपहिरोबाट पीडित २१ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको पहल र संयोजनमा नेरेसो तनहुँबाट उपलब्ध राहत सामाग्रि वितरण गरिएको हो ।
पीडित परिवारलाई त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा, मृतकको परिवारको लागि दाताहरूबाट संकलित नगद, खाद्यान्न, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइद्वारा संकलित कपडा, जुत्ताचप्पल लगायतका सामग्री वितरण गरिएको बताइएको छ ।
राहत प्राप्त गर्ने सबै परिवार पूर्णक्षति अन्तर्गतका ऋषिङ्ग-७ डढीवन, बाँझोगरा, चेलोक्मा र छतिवनका व्यक्तिहरू रहेको सोसाइटीले जनाएको छ । मृतक देवीसरा थापाको परिवारलाई तउवासंघ दमौली बजार एकाइबाट प्राप्त ७ हजार ५०० र नेरेसो कोटदरबार उपशाखाका सभापति इन्द्रबहादुर आलेबाट ४ हजार रुपैयाँ नगद सहयोग गरिएको छ । उक्त अवसरमा नेरेसो कोटदरबार उपशाखाको तर्फाट मृतकको परिवारलाई ५ हजार रुपैयाँ प्रदान गरिने जानकारी सभापति आलेले गराएका थिए ।
पहिरोले आवतजावत बन्द र अत्यन्त जोखिमपूर्ण रहेकोले उनीहरूलाई ऋषिङ्गको सट्टा म्याग्दे-१ स्थित बर्च्याङ गाउँबाट राहत वितरण गरिएको शाखा सभापति आलेले जानकारी गराए । यसअघि पहिरोमा परी ज्यान गुमाएका ऋषिङ्ग-८ माझकोटका खुमबहादुर आलेको परिवारलाई दमौली बजार एकाइ र नेरेसो कोटदरबार उपशाखाले १८ हजार ५०० रुपैयाँ रकम उपलब्ध गराइएको बताइएको छ । यस्तै, तनहुँ उद्योग वाणिज्य संघ, अशोककुमार श्रेष्ठ (व्यास-२) र व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेबाट प्राप्त कुल ३७ हजार रुपैयाँबाट खाद्यान्न किनेर पीडित परिवारलाई वितरण गरिएको सभापति आलेले जानकारी गराए ।










