तनहुँ प्रहरीद्वारा बाघको छाला, खप्पर र हड्डी सहित तीन जना पक्राउ
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-५ पतेनीस्थित पक्कीपुल नजिक बाखेतर्फजाने स्थानबाट प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुको साथबाट प्रहरीले बाघको छाला, खप्पर लगायत शरीरका विभिन्न अङ्गका हड्डी बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको संयुक्त टोलीले उक्त स्थानबाट शनिबार राती ती युवाहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यास नगरपालिका-६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराए ।

एकान्त स्थानको चोकमा शंकास्पद गतिविधि गरी रहेका उनीहरुलाई स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुको साथबाट बाघको छाला, दाँत, हड्डी र खप्पर लगायतका वस्तु बरामद गरेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । पक्राउ परेकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ ।
प्रहरीले अर्जुन श्रेष्ठको साथबाट ५ फिट ७ इन्च लम्बाइ २ फिट ५ इन्च चौडाइ भएको बाघको छाला एक थान, ३ फिट लम्बाइ एक फिट ५ इन्च चौडाइ भएको बाघको छाला एक थान र स्कुटर बरामद गरेको छ ।

यस्तै, सन्जित गुरुङको साथबाट बाघका शरीरको विभिन्न भागका हड्डीहरु सानो ठूलो गरी १२२ थान र कालो रङको पल्सर मोटसाइकल बरामद गरिएको छ ।
प्रहरीले सन्तोषको साथबाट पल्सर मोटरसाइकल र ३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरेको छ ।









