स्वास्थ्यकर्मीको परिचयपत्र भिरेर लागूऔषध ओसारपोसार गर्ने २ जना पक्राउ
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँले स्वास्थ्यकर्मीको परिचयपत्र भिरेर लागूऔषध ओसारपोसार गर्ने दुइ जना पक्राउ परेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारमा कोरोना रोकथाम तथा न्यूनिकरणको लागि सवारी साधन चेकजाँच गर्ने क्रममा दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यास नगरपालिका-१२ घाँसीकुवा स्थायी घर भइ हाल गोरखा नगरपालिका-१४ पाङ्गोटका २६ वर्षीय उमेश खत्री र गोरखा अरुघाट गाँउपालिका-१ स्थायी घर भइ हाल वडा नं. ७ सतिपिपल बस्ने २४ वर्षीय पूर्णसिंह गुरुङ रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । उनले भने, ‘मुग्लिङबाट आँबुखैरेनीतिर प्रदेश ३-०२-००२ प ६९०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा स्वास्थ्यकर्मीको परिचय पत्र भिरेका पूर्णसिंहको पछाडि बसेका उमेशको झोलाभित्र लागूऔषध भेटिएको हो ।’
प्रहरीले उनीहरुबाट डाइजेपाम र फेनरागन ९४/९४, नुफिन ९६ गरी २८४ थान लागूऔषध बरामद गरेको छ । प्रहरीका अनुसार हेल्थ असिस्टेन्टको कार्ड भिरेका पूर्णसिंहको साथबाट पनि ४ थान सिरिन्ज फेला परेको छ । पक्राउ परेका दुबैमाथि जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










