आँवुखैरेनीको वडा नं. ५ को कार्यालय भवनमा विद्यालय सञ्चालन गरिने
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँवुखैरेनी गाउँपालिकाको वडा नं. ५ को कार्यालय भवनमा विद्यालय सञ्चालन गरिने भएको छ । वडामा रहेको इन्द्रदेवी आधारभूत विद्यालयलाई वडा कार्यालय भवनमा सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।
वडा नं. ५ का वडा अध्यक्ष सन्तोष गुरुङले विद्यालय भवन निर्णय भएको बताए । उनले भने, ‘खेल मैदान समेत प्रयाप्त नभएको तथा विद्यालय भन्दावडा कार्यालय भवन राम्रो भएकाले कार्यालय भवनमा विद्यालय सार्ने निर्णय गरिएको हो ।’
बिद्यालय शैक्षिक सुधार कार्यक्रमका लागि अर्को व्यवस्था नभएसम्म वडा कार्यालय भवनमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको उनले बताए । आधुनिक भवनमा विद्यालय राख्ने र विद्यालयको पुरानो भवनमा वडा कार्यालय संचालन गर्ने गरी सहमति गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
यस्तै, गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने भएका छन् । गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि सबैले आगामी शैक्षिक सत्र २०८० देखि आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय भएको अध्यक्ष चुमानले बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य सहित जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने सहमति भएको उनले बताए। गाउँपालिकामा ३२ जना जनप्रतिनिधिहरु रहेका छन् । गाँउपालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब ४ हजार तीन सय विद्यार्थी रहेको बताइएको छ ।
यस्तै, सामुदायिक विद्यालयमा विद्यार्थीलाई आउन सहजताका लागि गाउँपालिकाको ससप्रतिशत अनुदानमा स्कुल बस हस्तान्तरण गर्ने तयारी भएको अध्यक्ष चुमानले बताए । पहिलो चरणमा पालिकाका ३ देखि ५ वटा विद्यालयलाई बस हस्तान्तरण गर्ने तयारी गरेको छ ।