तनहुँमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो, ६९९ जना संक्रमित मध्ये ४३६ जना निको भए, २५३ जना सक्रिय संक्रमित
- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपालीको महान चाड बडदशैं घरआँगनमा भित्रीएको छ । अहिले चाडपर्व मात्र होइन् दैनिक कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो केही दिन यता तनहुँमा संक्रमित हुनेको संख्या हृवत्तै बढेको छ । आइतबार २० जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार मात्रै ३४ जनामा संक्रमण देखिएको छ ।
यसरी दैनिक जसो संक्रमितको संख्या बढ्दै जाँदा नजिकिएको चार्डपर्व मनाउँदा हुने जमघटले थप जोखिम निम्त्याउने खतरा पनि बढेको छ । जिल्लाको १० वटै पालिकामा अहिले संक्रमितको संख्या बढ्दै गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सोमबार र्सार्वजनिक गरेको तथ्याङ्कमा सबै भन्दा बढि संक्रमितको संख्या व्यास नगरपालिकामा देखिएको छ । व्यास नगरपालिकमा पछिल्लो केही दिन यता संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्र व्यास नगरपालिकामा १९ जनामा संक्रमण पुष्टि भएको छ । यीसंगै व्यास नगरपालिकामा संक्रमितको संख्या २१० पुगेको छ भने सक्रिय संक्रमित १२२ जना रहेका छन् ।
यस्तै, सार्वजनिक तथ्याङ्क अनुसार भानु नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ११२, भिमाद नगरपालिकामा ४८, म्याग्दे गाउँपालिकामा ३७, घिरिङ गाउँपालिकामा ३७, रिसिङ गाउँपालिकामा ६८, देवघाट गाउँपालिकामा २६, बन्दीपुर गाउँपालिकामा ४६, आँवुखैरेनी गाउँपालिकामा २८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित भइ निको भएर घर फर्किएका बाहेक भानुमा ७, व्यासमा १२२, शुक्लागण्डकीमा ५९, भिमादमा २०, म्याग्देमा ४, घिरिङमा ३, रिसिङमा ७, देवघाटमा ९, बन्दीपुरमा १४, आँवुखैरेनीमा ९ जना गरी २५३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमित मध्ये १२९ जना होम आइसोलेसनमा बसेका छन् भने अन्यलाई जिल्लामा रहेका आइसोलेसन्मा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
जिल्लामा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्रहरी कार्यालय, औषधी व्यवसायी तथा भिडभाडयुक्त ठाउँमा कार्यरत व्यक्तिमा बढि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताउँछन् ।
‘बुझेकै मानिसहरुले बुझपचाएर लापरवाहीपूर्ण व्यवहार गर्दा अहिले संक्रमणको दर वृद्धि भएको छ’, प्रमुख अधिकारीले भने, ‘के गर्दा कोरोना संक्रमणबाट सुरक्षित भइन्छ भन्ने जानकार भएकै मानिसहरुको व्यवहार लापरवाहीपूर्ण छ । राम्रोसंग मास्क नलगाउने, मास्क नलगाइकन मर्निङ्गवक गर्ने, बजार तथा भिडभाडमा घुमफिर गर्ने, व्यवसायी, बैंक, मालपोत कार्यालय तथा अन्य भिडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्ड पालना नगरी लापरवाही गरेका कारण व्यास नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमण जोखिम उच्च बनेको छ ।’
‘जाने बुझेका मानिसहरुलाई घर बाहिर हिड्दा मास्क लगाउनुस् भन्दा खल्तिमा छ भन्ने, रिसाउने जस्ता व्यवहारपनि देखियो’, उनले भने, ‘कोरोना संक्रमण रोकथामका लागि सरकार तथा सरोकारवाला निकाय भन्दा पनि स्वायं व्यक्ति तथा व्यवसायी, बैंक तथा वित्तीय संस्था, मानिसको भिडभाड हुने सरकारी कार्यालयले पनि स्वास्थ्य सुरक्षाका सामाग्रि तथा भौतिक दुरी पालनामा सचेत बन्नुको विकल्प छैन ।’
यस्तै, मानिसहरुको लापरवाहीकै कारण बजार क्षेत्रमा कोरोना संक्रमण जोखिम बढेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती बताउँछन् । ‘नगरपालिकामा अहिले दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको छ’, प्रमुख सोतीले भने, ‘जतिपनि व्यक्तिहरु संक्रमित देखिएका छन् ती व्यक्तिहरु बढि भिडभाड हुने क्षेत्रमा कार्यरत व्यक्ति भएकाले थप जोखिम बढेको छ । हाम्रो महान चाडपर्व मनाउनका लागि समेत जमघट र भिडभाड बढ्दै गएको र नागरिकहरुबाट लापरवाही पनि बढेकाले संक्रमितको संख्या थप बढ्ने खतरा बढेको छ ।’
‘स्वास्थ्य सुरक्षाका सामाग्रि तथा मापदण्ड पालनामा लापरवाही भयो’, उनले भने, ‘बैंक तथा वित्तीय संस्था, व्यापारी, व्यवसायी, मालपोत कार्यालय जस्ता सर्वसाधारणको भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड पालनामा जिम्मेवार र सचेत नबने कोरोना संक्रमण भयवह बन्ने खतरा बढेको छ । जो व्यक्तिको परीक्षण गर्यो त्यही व्यक्तिमा संक्रमण देखिन अवस्था आएको छ।’
भारत लगायत अन्य मुलुक, संक्रमण देखिएका क्षेत्रबाट आएका नागरिकले अनिवार्य रुपमा १४ दिन सुरक्षित रुपमा क्वारेन्टिनमा बस्नुपर्ने, घर बाहिर निस्कदा स्वास्थ्य सामाग्रिको प्रयोग, भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न जिल्लाका स्थानीय तह तथा स्थानीय प्रशासनले आग्रह गर्दै आएको छ ।
चाडपर्व नजिकिएसंगै कोरोना संक्रमणको दर पनि बढ्दै जाँदा त्रासपूर्ण वातावरण सृजना भएको छ । मानिसहरुले कोरोना केही होइन् भन्ने सोचदै लापरवाही गर्दा जोखिम बढ्दै गएको छ । शहर बजार क्षेत्रमा बढि संक्रमण देखिएको भएपनि दशै पर्व मनाउनका लागि ग्रामीण क्षेत्रमा जाने क्रम समेत बढ्दै गएकाले गाउँमा संक्रमण फैलन समेत जोखिम बढेको छ ।
यस्तै, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरणमा भिमाद नगरपालिकामा २, आँवुखैरेनीमा ५, म्याग्दे गाउँपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा ४, व्यास नगरपालिकामा १९, भानु नगरपालिकामा १ जना र ठेगाना नखुलेका २ जना गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।










