तनहुँका १० वटै पालिकाले शिक्षित जनशक्तिको तथ्याङ्क सहित शैक्षिक सुचकको प्रोफाईल बनाउने
भञ्ज्याङ न्यूज

तनहुँका १० वटै पालिकाहरुले शैक्षिक सुचक समावेश गरी प्रोफाईल तयार गर्ने भएका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँका सबै पालिकाहरुले आ-आफ्नो पालिकाका उच्च शिक्षा प्राप्त शैक्षिक जनशक्तिको तथ्याङ्क सहितको शैषिक सुचक समावेश गरी प्रोफाइल तयार गर्ने निर्णय गरेका हुन् । जिल्ला समन्वय समिति तनहुँले बुधबार दमौलीमा सम्पन्न गरिएका पालिकाका असल अभ्यासको अनुभव आदानप्रदान तथा दुइ दिने शैक्षिक परामर्श गोष्ठीका सहभागिहरुले उक्त निर्णय गरेका हुन् । गोष्ठीमा सहभागिहरुले गाउँ/नगर शिक्षा योजना निर्माण गर्न बाँकी रहेका पालिकाहरुले यसै आर्थिक वर्षामा उक्त योजना निर्माण गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षता तथा सदस्य अर्जुन बहादुर अधिकारीको संयोजकत्वमा आयोजित गोष्ठीमा शिक्षा बिकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले जिल्लाको शैक्षिक अवस्थाका विषयमा सहजिकरण गरेका थिए ।
तनहुँका दशवटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको सहभागितामा आयोजित गोष्ठीमा पालिकाका शिक्षा शाखाहरुले गरेका असल अभ्यासका अनुभव आदानप्रदान गरिएको थियो । दुइ दिने गोष्ठीमा सहभागिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरको असार २७ गतेको निर्णयानुसार स्वीकृत भएको बालमैत्री स्थानीय शासन कार्यनयन निर्देशिका २०७८ को परिच्छेद ४ दफा ७ को लक्ष्य अनुसार बि.सं. २०८७ सालसम्म नेपालका सबै स्थानीय तहलाई वालमैत्री बनाउने भन्ने राष्ट्रिय लक्ष्यलाई प्राप्त गर्नका लागि जिल्लाका सबै स्थानीय तहहरुले वालमैत्री स्थानीय शासन कार्यनयन निर्देशिका २०७८ को सुचांकमा आधारित भई पालिकामा वालवालिकाको अवस्था सम्बन्धी वस्तुगत विवरण तयार तथा प्रकाशन गर्ने सम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने निर्णय भएको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले जानकारी गराएका छन् ।
गोष्ठीमा गाउँ/नगर शिक्षा समिति गठन/पूर्णता दिन बाँकी रहेका पालिकाहरुले अविलम्ब यसको कार्यान्वयन गरी समितिलाई क्रियाशिल बनाई शैक्षिक निर्णय र गतिविधिलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

संघ, प्रदेश, पालिका र वडाको शिक्षा सम्बन्धी कार्यक्रम र बजेटको कार्यनयन गराउदा सबै पालिकामा एकरुपता हुने गरी कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने, पालिका भित्र शिक्षा क्षेत्रमा संघ, प्रदेश, पालिका, वडा र गैसस आदि संघ संस्थाहरुबाट प्राप्त बजेटको खर्च विवरण एकीकृत अभिलेख पालिकाको शिक्षा शाखामा रहने व्यबस्था मिलाउन आवश्यक कार्यविधि वा निर्देशिका तर्जमा गर्न गोष्ठीमा सहभागिहरुले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी गराए ।
यस्तै, पालिकाले नमूना विद्यालयको कार्यविधि तर्जमा गरी त्यसका सुचकको आधारमा प्रत्येक वडामा प्रत्येक वर्षनमुना विद्यालयहरुको संख्या वृद्धि गर्दै जाने नीति तथा कार्यक्रम बनाउने, संस्थागत एवं सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, वस्तुगत सुचकहरु निर्माण गरी उत्कृष्ट विद्यालयलाई वाषिर्क रूपमा पुरस्कृत गर्दै जाने निर्णय गरिएको छ ।
विद्यालयहरुको समग्र शैक्षिक क्रियाकलाप र कार्यहरूको अनुगमन कार्यलाई अझ नियमित र प्रभावकारी बनाउदै जाने, पालिका भित्रका संस्थागत र सामुदायिक विद्यालयहरुका बीच असल अभ्यासहरुको अनुभव आदानप्रदान गर्न अवलोकन भ्रमण, शैक्षिक प्रदर्शनी, शैक्षिक सम्मेलन आदि क्रियाकलापहरु संचालन गरिने भएको छ ।
तनहुँका पालिका भित्र नयाँ विद्यालयहरुको स्थापना तथा अनुमति प्रदान गर्दा पालिकाले स्वीकृत गरेको शिक्षा ऐन, शिक्षा नियामवली र नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड अनुसार सबैमा शिक्षाको पहुँच पुर्याउने आवश्यक पहल गरिने भएको छ ।
यस्तै, नेपालको संबिधानले ब्यबस्था गरेको शिक्षा सम्बन्धी मौलिक हक र दिगो बिकास लक्ष्यको लक्ष नं. ४ पूरा गर्नका लागि सबै पालिकाहरुले आ-आफ्ना क्षेत्र भित्र विद्यालय जाने उमेर समुहका तर विद्यालय भर्ना नभएका सबै बालबालिकाहरुलाई खोजी गरी विद्यालय भर्ना गर्ने र आफ्नो पालिका भित्रका सबै बालबालिकामा शिक्षाको पहुँच सुनिश्चित भएको घोषणामा लागि पर्ने आग्रह गरिएको छ ।
पालिकाहरुको शिक्षा सम्बन्धी वाषिर्क बजेट तथा कार्यक्रम स्वीकृत हुँदा र स्वीकृत भएपछि सो खर्च गराउदा पालिकाको शिक्षा शाखासंग समन्वय गरी तोकिएको समयमै कार्यनयन हुने ब्यबस्था मिलाउन आग्रह गरिएको छ । गोष्ठीमा वडाको बजेटमा शिक्षा सम्बन्धी कार्यक्रममा स्वीकृत भएको बजेट तथा कार्यक्रमको कार्यनयन गर्दा शिक्षा शाखासंग समन्वय गरी गराउने ब्यबस्था सबै पालिकाहरुले मिलाउनका लागि अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।










