विपद प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका कार्यलय प्रमुखहरुले विपद् प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाका १० वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको समन्वय बैठकमा कार्यालय प्रमुखहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
मुलुक भर शुरू भएको मनसुनी वर्षा, बाढी पहिरो लगायतका संभावित जोखिमबाट जोगिने उपाय, भर्खरै पारित विपद् प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन, आवश्यक बजेट व्यवस्थापन, सामग्री तथा उपकरणको प्रबन्ध, स्वयं सेवक तथा उद्धार टोली निर्माण लगायतका विषयमा बैठकमा छलफल गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आयोजित बैठकमा कोभिड १९ को महामारीको प्रभावको समीक्षा र यसबाट जनताहरूलाई जोगाउन खेल्नुपर्ने भुमिका, यसमा विशेषतः स्थानीय तह, स्वास्थ्य निकाय, सुरक्षा निकाय तथा जिल्ला प्रशासनको भुमिकाका विषयमा छलफल गरी निष्कर्षनिकालिएको थियो ।
यस्तै, बैठकले आगामी असार ८ गतेदेखि लकडाउन/निषेधाज्ञाको अवस्था र यसको मोडालिटी कस्तो बनाउने भन्ने छलफल गरिएकोमा केही खुकुलो बनाउने बनाउँदै न्यूनतम् थप एक हप्ता लम्ब्याउने योजना बनाइएको बैठकमा सहभागिले जनाएका छन् ।
आर्थिक वर्षको अन्तिममा विकास निर्माणका कामहरू र भुक्तानी प्रक्रियालाई छिटो छरितो र सहज बनाउने विषयमा भएको छलफलमा बैंक तथा वित्तीय संस्था, सबारी पास, विद्युत, मालपोत तथा स्वास्थ्य सेवा प्रदायक निकायको भुमिका महत्वपूर्ण हुने निष्कर्ष निकालिएको छ । त्यस्तै, बजार अनुगमन, कालो बजारी गर्नेको पहिचान र कारवाही प्रक्रियाका सम्बन्धमा पनि बैठकमा छलफल गरी कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।










