अकोरावको साधारणसभा : स्थानीय आवाज सशक्त बनाउन सामुदायिक रेडियोको भूमिकामाथि जोड

दमौली : सामुदायिक सञ्चारको सुदृढीकरण र स्थानीय आवाजलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराव) गण्डकी प्रदेशको छैटौँ साधारणसभा शनिबार तनहुँको दमौलीमा सम्पन्न गरिएको छ । गण्डकी प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा प्रदेशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरू सहभागी भएका थिए ।

देशभर सञ्चालनमा रहेका तीन सय पचासभन्दा बढी सामुदायिक रेडियोहरूको साझा संस्था अकोराव अन्तर्गत गण्डकी प्रदेशका रेडियो प्रतिनिधिहरूले साधारणसभामा रेडियोहरूको वर्तमान अवस्था, चुनौती तथा आगामी रणनीतिबारे छलफल गरिएको थियो । विशेषगरी स्थानीय स्तरका सूचना, जनचासोका विषय र समुदायका आवाजलाई प्रभावकारी ढंगले प्रसारण गर्ने विषयलाई प्राथमिकतामा राखेर परामर्श गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक रेडियोहरू स्थानीय जनताको आवाज अभिव्यक्त गर्ने प्रभावकारी माध्यम भएको बताए। उनले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सामुदायिक सञ्चार माध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। स्थानीय तहका गतिविधि, विकास निर्माणका काम र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई सामुदायिक रेडियोहरूले निरन्तर उठान गर्नुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशकी प्रेस रजिष्टार बिमला भण्डारीले सञ्चार माध्यमहरूले विश्वसनीय र जिम्मेवार पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले तथ्यमा आधारित समाचार र सन्तुलित प्रस्तुतीकरणमार्फत सञ्चार क्षेत्रको विश्वसनीयता कायम राख्नुपर्ने बताइन्। स्थानीय तहका सूचना, जनचासोका विषय तथा समुदायसँग सम्बन्धित मुद्दालाई प्राथमिकताका साथ उठान गर्न सामुदायिक रेडियोहरू सक्षम माध्यम भएको उनको भनाइ थियो ।

साधारणसभामा अकोरावका पूर्व उपाध्यक्ष गोविन्द देवकोटा तथा अकोराव एशिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोहरूको संस्थागत क्षमता अभिवृद्धिमा जोड दिएका थिए । उनीहरूले रेडियोहरूलाई प्रविधि, स्रोत साधन र दक्ष जनशक्ति व्यवस्थापनमा अझ सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

पर्यटनविद् हरिसिंह गुरुङले ग्रामीण पर्यटन प्रवर्द्धनमा सामुदायिक रेडियोहरूको भूमिका उल्लेखनीय रहेको बताए। उनले स्थानीय पर्यटन सम्भावना, संस्कृति तथा परम्परागत जीवनशैलीलाई रेडियोमार्फत प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको बताए ।

वरिष्ठ पत्रकार गंगाधर पराजुलीले समयसापेक्ष, सकारात्मक र सन्देशमूलक कार्यक्रम उत्पादनमा सामुदायिक रेडियोहरूले विशेष ध्यान दिनुपर्ने बताए । समाजलाई सही दिशा दिने र जनतालाई उपयोगी सूचना प्रदान गर्ने कार्यक्रमहरू प्रसारण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अकोरावका केन्द्रीय सदस्य नविनराज पौडेलले सामुदायिक रेडियोहरूले स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए। उनले समुदायसँग प्रत्यक्ष जोडिने माध्यमका रूपमा रेडियो अझ प्रभावकारी बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्ष सुवास खतिवडा, कोषाध्यक्ष तुला अधिकारी, उपाध्यक्ष शान्ता थापा तथा दलित पत्रकार संघ गण्डकीका अध्यक्ष पूर्ण विकले पनि आ–आफ्नो धारणा राख्दै समावेशी सञ्चार अभ्यासलाई अझ मजबुत बनाउन सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

साधारणसभामा सामुदायिक रेडियोहरूको दिगोपन, क्षमता विकास, स्थानीय मुद्दाको प्रभावकारी उठान तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल हुँदै नीतिगत निर्णयहरू समेत गरिएको बताइएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker