शुक्लागण्डकीका कौशी खेती गर्ने किसानलाई पुरस्कार
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ ले वडाभित्र कौशी खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आईरहेको छ । बजारमा खेतीयोग्य जमिन कम रहेको हुँदा खाली रहेको छतमा कौशी खेती गर्ने अभियान सहित वडाले हेरक बर्ष उत्कृष्ट कौशी खेती गर्ने कृषकलाई पुरस्कृत गर्ने गरेको छ ।
वडा कार्यालयले यस बर्ष दुलेगौंडा भित्रिटोलका डिल बहादुर थापाको कौशी खेतीले प्रथम स्थान हासिल गरेको छ । शुक्ला टोलका उमानाथ गौतमको कौशी खेती दोस्रो र हेल्थपोष्ट टोलकी सोममाया श्रेष्ठको कौशी खेती तेस्रो हुन सफल भएका छ । प्रत्येक टोलका एक उत्कृष्ट कृषक गरी १५ जना सन्तवना भएका छन् ।
गत बर्ष कौशी खेतीमा प्रथम भएका राजकुमार भण्डारीले यस बर्षउत्कृष्ट किसानको पुरस्कार प्राप्त गरेका छन् । प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने कृषकहरुलाई क्रमशः प्रमाण पत्रका साथै १५, १२, १० र ५ मिटर असिना जोगाउने जाली वितरण गरिएको थियो भने उत्कृष्ट कृषक भण्डारीलाई नौ हजार बराबरको कम्पोष्ट बिन दिईएको छ ।
बजार क्षेत्रमा खेतीयोग्य जमिन कम हुने र हरेक कुराहरु किनेर खानुपर्ने समस्या रहेका कारण कौशी खेतीको अवधारण ल्याई पुरस्कृत गर्ने गरेको वडा नं. ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । बजारबाट किनेर खाएका तरकारी तथा फलफूलहरु बिषाधि हुने हुँदा कौशीमा नै फलाएर खाँदा स्वास्थ्यका लागि पनि फाईदाजनक हुने उनले बताए । साथै वडाले हरेक बर्ष कौशी खेतीका लागि बजेट विनियोजन गर्दै आईरहेको समेत बताए ।
कार्यक्रममा कृषि विकास शाखा ढोरफिर्दीकी प्राविधिक चन्द्राकला राइले तालिम तथा अनुभव, कौशीको क्षेत्रफल, स्थायी तथा अस्थायी संरचना, वाली छनोट, कौशी खेतीको व्यवस्थापन र घरबाट निस्किने फोहोरको सदुपयोगका आधारमा उत्कृष्ट कौशी खेती कृषक छनोट गरेको बताईन् । जमिन हुनेहरुले जमिनमा नै र नहुनेहरुले कौशीमा व्यवस्थित रुपमा खेती गर्न उनले आग्रह गरिन ।
कौशी खेतीलाई निरन्तरता दिंदै आएका राजकुमार भण्डारीले व्यवस्थित रुपले कौशी खेती गर्न सकेमा ढलानको संरचना पनि नब्रि्रने र पारिवारीक आर्थिक भार पनि कम हुने बताए । साथै कार्यक्रममा सहभागिहरुले कौशी खेती गरेपछि बजारबाट तरकारी किनेर खानुपर्ने अवस्था नरहेको समेत बताए ।
वडाध्यक्ष श्रेष्ठको अध्यक्षता आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य दिव्यश्वरी विक, अन्नपूर्ण टोलका अध्यक्ष मानकुमार तिम्ला, वडासदस्य रोजिना खातुन, वडा सचिव कल्पना गैरे सुवेदी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










